हेटौँडा – वाग्मती प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले विकास निर्माणको कामलाई द्रुतगतिमा अगाडि बढाएको बताएका छन् ।


ADVERTISEMENT


विपक्षीहरुको गुनासोको सम्बन्धमा पत्रकारसँगको संक्षिप्त कुराकानीमा मुख्यमन्त्री पौडेलले वाग्मती प्रदेश सरकारले सातवटै प्रदेश सरकारभन्दा उत्कृष्ठ एवं गुणस्तरीय र प्रभावकारी रुपमा विकास निर्माणमा जोड दिएको तर्क दिए ।


ADVERTISEMENT

# # #


उनले वाग्मती प्रदेशको १३ जिल्लालाई जोड्ने सडक सञ्जालको निर्माण, ग्रामीण सडकको निर्माण, सुरुङमार्गको निर्माण, मुख्य सडकको निर्माण र सार्वजनिक यातायातको सञ्चालन र सुरक्षामा विशेष प्राथमिकताको आधारमा काम गरिरहेको छ भने।

उनले वाग्मती प्रदेशको राजधानी हेटौँडा भएकोमा जनतालाई कुनै समस्या नभएको र भौगोलिक आधारमा उपयुक्त स्थान भएको उल्लेख गर्दै समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई पूरा गर्न प्रदेश सरकार लागि रहेको छ भने । प्रदेश सरकारलाई पूर्णता दिन दुग्ध विकास बोर्डको गठन, पर्यटन निर्देशनालय, प्रेस रजिष्टारको कार्यालय, औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया, विभिन्न उद्योग र कृषि उत्पादन बढाउने खालको विकासका कार्यक्रम गरिरहेको र आगामी दिनमा प्रभावकारीका साथ सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रदेश सरकार स्थानीय सरकारसँग समन्वय गरेर जनताको कामलाई छिटोछरितो र पारदर्शी रुपमा गरिरहेको जानकारी दिए । पौडेल समाजद्वारा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले उपरोक्त कुरा बोलेका हुन् । उनले पौडेल समाज मकवानपुरको प्रथम जिल्ला अधिवेशन उद्घाटन गरेका थिए ।रासस