सुदीप आचार्य : अध्यक्ष, कामना सेवा विकास बैँक


ADVERTISEMENT


कामना सेवा विकास बैँकको पृष्ठभूमिबाटै सुरु गरौँ । यहाँसम्मको यात्रा कसरी तय भयो ?


ADVERTISEMENT

# # #


पृष्ठभूमिको कुरा गर्नु पर्दा कास्की फाइनान्स र कामना विकास बैँक पोखराबाट सञ्चिालित थिए । कास्की फाइनान्स राष्ट्रिय स्तरकै थियो । राष्ट्रिय स्तरको भएपनि हामी त्यो स्तरमा पुग्न सकेका थिएनौँ । स्थानीयस्तरमै थियो । कामना १० जिल्लासम्म फैलिएको थियो । त्यसपछि हाम्रो मर्ज भयो । त्यतीबेला हामीसँग दुईटै कम्पनीको गरेर करिब २० वटा शाखा सञ्चालनमा थिए । त्यसपछि राष्ट्रियस्तरको बन्नका लागि राष्ट्र बैँकको आवश्यक मापदण्ड पूरा गर्नुपर्ने भएकाले हामीले बुटवल भैरहवा र नारायणगढ क्षेत्रमा फैलिएको सेवा विकास बैँकसँग मर्ज गर्‍यौँ ।

त्यतिबेला सेवा विकास बैँकको पनि १९-२० वटा शाखा थिए । दुईवटै शाखा मर्ज भइसकेपछि हाम्रो ४० वटा शाखा र २५० करोड बढी पूँजी भयो र हामीले केन्द्रीय कार्यालय काठमाडौंमा सार्‍यौँ । त्यही वर्ष हामीले १८ वटा शाखा विस्तार गरेका थियौँ । संरचनागत प्रणाली, टिम व्यवस्थापन र सेवाको गुणस्तरमा वृद्धि गर्दै कामना सेवा विकास बैँक यो स्तरसम्म आइपुगेको हो ।

कामना सेवा विकास बैँकले पछिल्लो समय आफ्नो गतिविधिलाई कसरी अगाडि बढाइरहेको छ ? 

जुन रफ्तार हामीले राष्ट्रिय स्तरभइसकेपछि लिएका थियो, अहिले त्यसको गति अझ बढेको छ । पूर्जीको विस्तार, सेवा सुविधामा वृद्धि, शाखा विस्तारमा हामी तीव्र रुपमा लागेका छौँ । अहिले हामी एक किसिमले लगानीको समयमा छौँ । सबै स्थानीय तहमा पुग्ने हाम्रो लक्ष्य हो । त्यही अनुसार अगाडि बढिरहेका छौँ । त्यसको एउटा कारण के हो भने काठमाडौँमा हाम्रो आधार थिएन । राष्ट्र बैँकको नियम अनुसार उपत्यका बाहिर तीन नयाँ शाखा खोलेमा मात्रै काठमाडौँमा एउटा शाखा विस्तार गर्न पाइन्छ । आजको दिनमा सबैभन्दा ठूलो व्यापारको क्षेत्र भनेको काठमाडौँ नै हो । त्यसमा हामी लागेका छौँ । यो एउटा बाध्यता हो । तर, विभिन्न ठाउँमा पुग्ने यो एउटा अवसर पनि हो ।

बैँकका आगामी योजना के छन् ?

अब हामी पाँच सातवटा शाखा विस्तार गर्ने योजनामा छौँ । त्यसपछि शाखा विस्तारभन्दा पनि हामी व्यापार र सेवा वृद्धिमा जान्छौँ । हामीसँग एकदमै सिर्जनात्मक टिम छ । विभिन्न योजना आउँदैछन् । एउटा उदाहरण दिनुपर्दा हामीले सात वर्ष दुई महिनासम्म बैँकमा पैसा राखेमा आफ्नो पैसाको दोब्बरका साथै विभिन्न बीमाका सेवाहरु पाउने गर्दैछौँ । यस्तै कतिपय प्रविधिलाई मजबुत बनाउने कुरामा पनि हामीले काम गरिरहेको छौँ ।

त्यस्तै स्थानीय व्यापार संस्थासँग सहकार्य गरेर ग्राहकका लागि सुविधा प्रदान गरिरहेको छौँ । यस्ता थुप्रै कुराहरु छन् । राष्ट्र बैँकको परिधिभित्र बसेर काम गर्नुपर्न भएकाले कतिपय कुरा ल्याउन पनि पाइएको छैन । तर, ती विस्तारै आउँछन् ।

अहिले विकास बैँकबीच नै मर्जर हुने अवस्था छ । त्यसले कामना सेवालाई असर पुर्‍याउँछ कि पुर्‍याउँदैन ?

मर्जरको विषयमा विशेष गरी विकास बैँकहरु धेरै दोधारहरु छन् जस्तो मलाई लाग्छ । राष्ट्र बैँकले हामीलाई बोलाएर मर्जरमा जान आग्रह गरिएको थियो । वाणिज्य बैँकहरुलाई कडाइ गरिएपनि हामीमा त्यस्तो कडाइ नभएको हो कि भन्ने हामीले महसुस गर्‍यौँ । त्यसपछि राष्ट्र बैँकसँगको अर्को छलफल अनुसार आफै गर्न सकिन्छ भने गर्नुहोस्, दबाब छैन भन्ने किसिमको आशय देखियो । त्यसपछि हामी अलि पछि हटेका हौँ । विशेष गरी कामना सेवा भिजन २०२८ को गन्तव्यमा छ । त्यो यात्रा समातिरहँदा अहिले मर्जरतिर लागियो भने केही नोक्सान हुन्छ कि भन्ने लागेर हामी अलि सुस्त भएका छौँ । तर, मर्जरको बाटो पूरै बन्द भएको छैन ।

पछिल्लो समय विकास बैँक र वाणिज्य बैँकको काम गराईको प्रकृति पनि एउटै देखिन थालेको देखिन्छ । यसले गर्दा विकास बैँकको अस्तित्वको महत्व के हो भनेर पुष्टि गर्नुपर्ने बेला आएको हो ?

यो एकदम जायज कुरा हो । विकास बैँक र वाणिज्य बैँकले गर्ने काम उस्ताउस्तै हो भन्ने सोच नभएको होइन । तर, के देखिन्छ भने कमर्सियल बैँकहरुको अप्रोच र हाम्रो अप्रोच अलि फरक हुनसक्छ । कमर्सियल बैँकहरुले एकदमै ‘भोल्यूम’मा काम गर्नुपर्ने भएकाले प्रणालीगत रुपमा जानुपर्ने वा माथिमाथि हेर्नुपर्ने बाध्यताहरु हुनसक्छन् । हामी व्यक्तिगत सेवामा काम गर्ने, तल्लो स्तरमा रहेका आममानसलाई लाभ दिने कुरामा केन्द्रित हुन्छौँ । ‘कम्फर्ट जोन’का हिसाबले हामीमा बढी हुन्छ । स्थानीय स्तरमा पनि हाम्रो उपस्थिति हुन्छ । जुन कुरा कमर्सियल बैँकहरुमा छुट्छजस्तो लाग्छ ।

अर्को कुरा, सरकारले ‘नयाँ युग’का रुपमा सुरु गरेको सामाजिक सुरक्षाको कार्यान्वयनका विषयप्रति बैँक तथा वित्तीयसंस्थाहरुले असन्तु असन्तुष्टि व्यक्त गरिरहेका छन् । यसबारेमा तपाईंको धारणा के छ ?

मलाई के लाग्छ भने सरकारले कुनै पनि नीति ल्याउँदा राम्रोसँग गृहकार्य गरेर ल्याउनुपर्छ । तर, सरकारले ल्याएको नियम कानुन मान्दैनौँ भन्न पनि मिल्दैन । तर, त्यसमा प्रश्न गर्ने ठाउँ छन् भने चूप लागेर बस्ने कुरा पनि भएन । अहिले प्रश्न गर्ने थुप्रै ठाउँ भए । त्यसकारण यसबारे अझै केही तयारी गर्नुपर्छ जस्तो लाग्छ ।

अन्त्यमा, कामना सेवाको व्यवस्थापन टिमलाई के भन्नुहुन्छ ?

मैँले सँधै भन्ने कुरा के हो भने हामी रचनात्मक हुनुपर्छ । पूरानै तरिकाले काम गर्ने हो भने हामी नयाँ ठाउँमा पुग्न सक्दैनौँ । हामीले एउटा गन्तव्य बनाएका छौँ । त्यो भिजनमा पुग्नका लागि के आवश्यक छ, त्यसमा लाग्नुपर्छ । डिजिटल युगमा प्रविधिलाई आत्मसाथ गर्दै नविनतालाई कसरी पहिल्याउने भन्नेबारे सोच्नुपर्छ । कुनै न कुनै कुरामा केही न कही चुनौति लिनैपर्छ भन्ने मेरो मान्यता हो । युवा टिम भएकाले हाम्रो टिमको सोचाईमा नै नविनता छँदैछ । अन्ततः यो फाइदा बैँकमात्रै होइन, शेयर होल्डर, कर्मचारी, ग्राहक र राष्ट्र सबैलाई हुने हो ।