काठमाडौ– भारतको टाटा समूह र सिङ्गापुर एयरलाइन्सको संयुक्त लगानीमा सञ्चालित भिस्तारा एयरलाइन्सले मङ्गलबारदेखि काठमाडौँ उडान शुरु गरेको छ ।


ADVERTISEMENT


नयाँ दिल्ली–काठमाडौं दैनिक एक उडान गर्ने गरी नयाँ गन्तव्यमा उडान शुरु गरेको एयरलाइन्सले जनाएको छ । शुरुआती चरणमा दुईतर्फी प्रवद्धर्नात्मक भाडादर रु १५ हजार आठ सय तोकिएको भिस्ताराका प्रमुख व्यापारिक अधिकृत विनोद कन्नले जानकारी दिए । उनका अनुसार विजनेश क्लासको दुईतर्फी भाडादर रु ६१ हजार तोकिएको छ । ‘नेपाल भ्रमण वर्षलाई हाम्रो उडानले थप सहयोग हुन्छ, उनले भने, हाम्रो उडानबाट यात्रुले सुरक्षित र आरामदायी यात्राको अनुभव गर्न सक्नेछन् ।’ पहिलो उडानमा ९५ प्रतिशत अकुपेन्सीे थियो ।


ADVERTISEMENT

# # #


सन् २०१९ बाट अन्तरराष्ट्रिय उडान शुरु गरेको भिस्ताराको नेपाल पाचौँ उडान गन्तव्य हो । हाल ३९ वटा विमानबाट आन्तरिक तथा अन्तरराष्ट्रिय ३६ गन्तव्यमा दैनिक दुई सय वटा उडान गर्दै आएको छ ।

भिस्तारामा तीन श्रेणीको सिटको व्यवस्था रहेपनि नेपाल र नयाँ दिल्लीको यात्रामा प्रिमियम र इकोनिमक वर्गको मात्र सुविधा रहेको छ । भिस्ताराले नेपालको जेनरल सेल्स एजेन्ट (जीएसए) ट्राभल राइट रहेको छ । ट्राभल राइटका निरज रिजालका अनुसार यात्रुको मागअनुसार उडान सङ्ख्या थप गर्ने तयारी भएको छ ।

“शुरुवाती उडान बोइङबाट गरिएको छ, तर आगामी मार्च १ देखि एयर बस ३२० (न्यारोवडि) विमानबाट उडान हुनेछ”, उनले भने । काठमाडौँ–नयाँ दिल्ली मार्गमा दैनिक ५ वटा उडान गर्दै आएको जेट एयरवेजले २०७५ साल चैत २९ गतेदेखि नेपालको उडान बन्द गरेको थियो ।

जेटको नेपाल उडान बन्दपछि भारतका विभिन्न वायुसेवा कम्पनीहरुले नेपाल उडानको तयारी गरेको नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ । हाल काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली उडानमा नेपाल वायुसेवा निगमले दैनिक दुई उडान, इण्डियन एयरले दैनिक दुई उडान र भुटानको टुक एयरले सातामा तीन उडान भर्दै आएका छन् । जेट एयरको उडान बन्दपछि नयाँ दिल्ली उडानको भाडादर वृद्धि भएकोमा नयाँ विमान थपिएपछि भाडादर कम हुने ट्राभल्स एजेन्टहरु बताउँछन् ।रासस