नारायण ढुङ्गाना, काठमाडौँ – प्यूठानको झिम्रुक गाउँपालिका –१ का नवनियुक्त प्रहरी महानिरीक्षक (आईजी) ठाकुरप्रसाद ज्ञवाली सरल र प्रचार नचाहने व्यक्तिको रुपमा चिनिन्छन्।


ADVERTISEMENT


आफ्नो काममा दत्तचित्त भएर लाग्ने तर कतै प्रचारमा नदेखिए कै कारण उनको शालिनता प्रष्ट हुन्छ । अहिलेसम्म आर्थिक विवादमा समेत तानिएका छैनन् । उनीसँग काम गरेका प्रहरी अधिकृतहरु पनि ज्ञवालीलाई सरल र सहयोगी व्यक्तिका रुपमा चिनेको बताउँछन् । प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट सिधैँ आईजीमा फड्को मारेका ज्ञवाली आईजीमा नियुक्त हुँदा कुनै राजनीतिक चलखेल भएन, न त उनलाई कसैले अयोग्य र कार्यसम्पादन मूल्याङ्कनमा कम अङ्क ल्याएका व्यक्ति भनेर नै भने ।


ADVERTISEMENT

# # #


प्यूठानको तत्कालीन बादिकोट गाविसमा विसं २०२२ मा जन्मिएका उनको बारेमा धेरैलाई जानकारी कम छ । पछि उनको परिवार दाङमा बसाइँसरेको थियो । उनले विसं २०४७ असारमा प्रहरी निरीक्षकको रुपमा सेवा शुरु गरका थिए।

ज्ञवालीले जिल्लाको ओकरकोटस्थित माविमा एसएलसी गरेपछि त्रिचन्द्र कलेजबाट आईएससी गरेका थिए । त्यसपछि कीर्तिपुर क्याम्पसबाट उच्च शिक्षा हासिल गरे। मन्त्रिपरिषद्ले आईजीमा नियुक्त गर्दा सामाजिक सञ्जालमा उनको प्रशंसा मात्रै देखिनुले पनि उनको व्यक्तित्व झल्किने बताइएको छ ।

विगतमा प्रहरी महानिरीक्षक नियुक्तिको विषय अदालतमा पुगेको थियो । कनिष्ठलाई नियुक्ति गरिएको भन्दै कतिपय प्रहरी अधिकृतले राजीनामा दिएको उदाहरण छ । तर यसपटक निर्विकल्प रुपमा उनको नाम गएको एक प्रहरी अधिकृतले बताए । चार वर्षअघि जयबहादुर चन्द आईजी हुँदा डीआइजी नवराज सिलवाल अदालत पुगेका थिए । उपेन्द्रकान्त अर्याल आईजी हुँदा पनि प्रहरीमा विवाद बल्झिएको थियो । वर्तमान आईजी सर्वेन्द्र खनाल डिआईजीबाट बढुवा हुँदा तत्कालीन डिआईजी रमेश खरेलले राजीनामा दिए।

नवनियुक्त आईजी ज्ञवाली विसं २०५८ मा डीएसपीमा थिए । विसं २०६६ मा एसपी, २०७३ मा एसएसपी हुनुभएका उहाँ २०७५ असोजमा डीआईजीमा बढुवा भए । उनका भाई श्यामलाल ज्ञवाली महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा एसएसपीको रुपमा कार्यरत छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रहरी महानिरीक्षकको सचिवालय र नेपालगञ्ज तालिम केन्द्रसहित दाङ, बारा, झापा, रुपन्देही, रुकुमलगायत ठाउँमा काम गरेको अनुभव उनीसँग छ । उनी विसं २०४६ माघमा वर्तमान प्रहरी महानिरक्षिक खनालसँगै परीक्षा दिँदा वैकल्पिकमा नाम निकालिएका थिए ।

त्यसकारण पाँच महिना ढिला गरी विसं २०४७ असारमा उनी प्रहरी सेवामा लागेका थिए । अहिले प्रहरी महानिरीक्षक खनालसहित तीन एआईजीले अवकास पाएपछि उनी सिधैँ डिआईजीबाट बढुवा भएर आईजी बनेका हुन् ।

शान्ति सुरक्षा र कानून कार्यान्वयन पहिलो काम

नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले आज साँझ रासससँग संक्षिप्त कुरा गर्दै कानून कार्यान्वयमा दत्तचित्त भएर प्रहरी सङ्गठनलाई अगाडि बढाउने बताएका छन् ।

कार्यभार सम्हालेपछि भावी कार्ययोजना बनाएर अघि बढ्ने जानकारी दिँदै ज्ञवालीले गृह मन्त्रालयले तय गरेको नीति तथा कार्यक्रम कार्यान्वयनमा नै आफ्नो जोड रहने बताए। उनले समाजमा शान्ति कायम गर्नु प्राथमिकताको विषय हुने बताए । “नेपाल प्रहरीले गर्ने भनेको, गृह मन्त्रालयको नीति तथा कार्यक्रम लागू गर्ने हो, त्यसमा कुनै कसर बाँकी रहने छैन”, ज्ञवालीले भने।

समाजमा शान्ति सुरक्षा प्रदान गरी नागरिकको सुरक्षामा प्रहरी सङ्गठन हरतहरले लाग्दै आएको र आगामी दिनमा लाग्ने बताउँदै उनले आफू आईजी नियुक्त हुनुलाई नियमित प्रक्रियाको रुपमा लिएको प्रतिक्रिया दिए । रासस