कृष्ण न्यौपाने,तनहुँ – तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पूर्वाधारयुक्त केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार प्रालीलाई लिमिटेडमा रुपान्तरण गरिएको छ । प्रालीको साधारणसभाले कम्पनीलाई लिमिटेडमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


लिमिटेडमा रुपान्तरण भएसँगै कम्पनीको नाम बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेड राखिएको छ । कम्पनीलाई उद्यमशील साझेदारीको उपयुक्त गन्तव्य बनाउने उद्देश्यसहित लिमिटेडमा रुपान्तरण गरिएको अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । परियोजनामा रणनीति योजनाअनुरुप शेयरधनीको सहभागिता सुनिश्चित गर्ने कम्पनीको दीर्घकालीन रणनीतिलाई सार्थक बनाउने अभिप्रायका साथ कम्पनीको प्राइभेट लिमिटेडको स्वरुपलाई बदलेर पब्लिक कम्पनीको स्वरुपमा लैजाने निर्णय भएको उनले जानकारी दिए ।


ADVERTISEMENT

# # #


लिमिटेडले पन्ध्र वर्षीय रणनीति योजना समेत बनाइएको छ । पहिलो पाँच वर्षलाई अल्पकालिन लक्ष्य, दोस्रो पाँच वर्षलाई मध्यकालिन लक्ष्य र तेस्रो पाँच वर्षलाई दीर्घकालिन लक्ष्यका रुपमा वर्गीकरण गरिएको छ ।

खड्गदेवीलाई रु १५ लाखको शेयर

लिमिटेडले बन्दीपुर गाउँपालिका–४ मा रहेको खड्गदेवी मन्दिरलाई जगेडा शेयरमध्येबाट रु १५ लाखको शेयर प्रदान गरेको छ । खड्गदेवी मन्दिरको अङ्ग केबलकार र केबलकारको अङ्ग मन्दिरलाई बनाएर लैजान मन्दिर समितिलाई उक्त शेयर प्रदान गरिएको शर्माले जानकारी दिए । मन्दिरको दीर्घकालीन एवं दैनिक सञ्चालनको ग्यारेण्टी गर्ने गरी शेयर हस्तान्तरण गरिएको छ ।

वडा नं ४ ठूल्ढुङ्गामा निर्माण भइरहेको बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजनाको कूल लागत रु एक अर्ब ५६ करोड रहेको छ । एक वर्षभित्र केबलकार सञ्चालनमा ल्याउने गरी कामलाई तीव्रता दिइएको छ । कम्पनीले माथिल्लो स्टेशनमा रु ८० करोडको लागतमा चारतारे होटलसमेत निर्माण गर्ने भएको छ । त्यसका लागि काठमाडौँस्थित चन्द्र निर्माण सेवासँग सम्झौता भइसकेको लिमिटेडका सञ्चालक तारानाथ उपाध्यायले जानकारी दिए ।

उनका अनुसार २५ महीनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ । कलात्मक शैलीमा निर्माण गरिने होटलका लागि नेपाल एसबिआइ बैंकसँग ऋण सम्झौता भइसकेको छ । केबुलकार परियोजनाका लागि बैंकले रु ९७ करोड ऋण दिने सहमति भएको छ ।

केबलकार परियोजनाको परामर्शदाताका रुपमा काठमाडौँस्थित केज कन्सलट्यान्ट प्राली, मेकानिकल परामर्शदाताका रुपमा भारतस्थित सिआरएस र ब्रिको इङ्ग्ल्याण्ड रहेको छ । आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्राली, पञ्चासे केबुलकार एण्ड टुर्स प्राली, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, गाउँपालिका र स्थानीयवासीको लगानीमा केबलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको छ । लगानी दाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीको कम्पनी हो, जहाँ एक हजार १०० भन्दाबढी लगानीकर्ता छन् ।

केबलकारको माथिल्लो स्टेशनमा १० तल्लाको होटलसहितको भवन निर्माण गरिनेछ । उक्त भवनमा आधुनिक दृश्यावलोकन स्तम्भ, समारोह हल र ८० कोठा निर्माण हुने अध्यक्ष शर्माले जानकारी दिनुभयो । केबलकार भने एक वर्षभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । परियोजनाअन्तर्गत अहिले केबलकारका लागि आवश्यक मुख्य स्टेशन निर्माणको काम धमाधम भइरहेको छ ।

प्रारम्भमा रु ५६ करोडको लागतमा केबलकार सम्पन्न गर्ने योजना रहेकामा कम्पनीले केबलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबल डिटाचेबल प्यासेञ्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरण जडान गर्ने योजना थप गरेको थियो । साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जङ्गल सफारीको सेवा शुरु गर्ने गरी कम्पनीले लगानी गर्ने जनाएको छ ।

कम्पनीले केबलकारको पूर्वाधार निर्माणका लागि आवश्यकपर्ने जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई रु ४५ लाख बराबरको शेयर प्रदान गरिसकेको छ । ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबलकारबाट घण्टामा २०० जना वारपार गर्न सक्नेछन् । एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु बन्ने विश्वास लिइएको छ ।

ठूल्ढुङ्गास्वाँराबाट शुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबलकारले एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ । तनहुँको डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किलोमिटरको उकालो दूरी बसमा करिब २० मिनेट लाग्छ । केबलकार निर्माण भएपछि केबुलकारमा नौ मिनेटमा बन्दीपुर पुग्न सकिन्छ । केबलकारमा दुई सामान बोक्नेसहित १७ बाक्सा रहनेछन् । रासस