काठमाडौँ – आइसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तरगतको पहिलो खेलमा नेपालले हार ब्यहोरेको छ । बुधबार भएको खेलमा नेपाल घरेलू मैदानमा ओमानसँग १८ रनले पराजित भएको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १९७ रन बनायो । १९८ रनको चुनौति पच्छ्याउँदै मैदान उत्रिएको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १७९ रन बनाउन सक्यो ।


ADVERTISEMENT

# # #


ओमान विरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपालको सुरुवात नै खराब रह्यो । ओपिनिङ जोडी कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले पहिलो विकेटका लागि मात्र ४ रनको साझेदारी गरे । ज्ञानेन्द्र मल्ल १ रनमा आउट हुँदा पारस ३ रनमा पेवेलियन फर्किए ।  ४.३ ओभरमा मात्र ४ रनमा २ विकेट गुमाएको नेपालका लागि शरद भेषावकर र उपकप्तान दीपेन्द्र सिंह ऐरीले नेपाललाई सम्हाल्ने प्रयास गरे । तेस्रो विकेटका लागि उनीहरुले ६२ रनको साझेदारी गरेपछि दीपेन्द्र व्यक्तिगत ५७ बलमा ५ चौका र एक छक्काको मदतमा ३६ रनमा आउट भए ।

नेपालका लागि शरद भेषावकरले अर्धशतकीय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् । पहिलो एकदिवसीय अर्धशतक हानेका शरदले १०८ बलमा ५ चौकाको मदतमा ५५ रन बनाए । यस्तै आरिफ शेख ६ र रोहित पौडेल शुन्य रनमा आउट भएपछि नेपाल झन दबाबमा आयो । त्यसपछि विनोद भण्डारीले नेपाली इनिङलाई सम्हाल्ने प्रयास गरेपनि २५ बलमा २६ रन बनाएर आउट भए ।

करण केसी शून्य रनमा आउट हुँदा सन्दीप लामिछानेले नेपाललाई जिततर्फ लैजाने प्रयास गरेका थिए । तर उनी पनि २७ बलमा ३ चौका र एक छक्को मदतमा २८ रन बनाउँदा आउट हुन पुगे । अभिनास बोहरा र सुसन भारीले समान ८-८ रन बनाए । ओमानका कप्तान जिसन मक्सुदले ३ तथा बिलाल खान र कलिमुल्लाहले समान २ २ विकेट हात पारे । मोहम्मद नादिम, अकिव इल्याज र दाबर अलिले समान १-१ विकेट हात पारे ।

त्यसअघि ओमानका लागि मोहम्मद नादिमले सर्वाधिक ६९ रन बनाए । प्रतियोगिताको पहिलो अर्धशतक प्रहार गरेका उनले ९६ बलमा ५ चौका र २ छक्का प्रहार गरे । यस्तै ओमानका लागि सन्दीप गाउडले ३३, मोहम्मद नासिमले २८, जासिन मक्सुद २० र अकिव इल्याज १६ रनमा आउट भए ।

नेपालका लागि करण केसीले चार विकेट लिए भने सुसन भारीका नाममा तीन विकेट रह्यो । करणले ९ आभरमा एक मेडेन राख्दै ४७ रन खर्चिएर चार विकेट लिए । यस्तै  सुसनले ओमान विरुद्ध १० ओभर गर्दै एक मेडेन ओभर फाल्दै मात्र १४ रन दिएर ३ विकेट चट्काए । त्यसक्रममा उनले ओमानका खाबर अली (५), कप्तान जिशान मम्सुद (२०) र सन्दीप गौड (३३) लाई आउट पारे ।