काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवालले आफ्नो पदबाट राजीनामा दिएका छन् ।


ADVERTISEMENT


यही माघ २२ देखि २९ गतेसम्म काठमाडौँमा हुने नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजपछि लागू हुनेगरी पटवालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) समक्ष राजीनामा दिएका हुन् । राजीनामाबारे उनले नेपाल क्रिकेट संघ (क्यान)लाई समेत बोध गराएका छन् ।


ADVERTISEMENT

# # #


भारतको मुम्बईका पटवाललाई आइसीसीले गत जेठमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट मासिक ७ लाख बढी तलब खानेगरी एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । त्यसअघि नेपालको ब्याटिङ प्रशिक्षक रहेका पट्वालले मुख्य प्रशिक्षक बन्ने बित्तिकै आफ्नो लक्ष्य सन् यही वर्ष अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा नेपाललाई पुर्याउने आफ्नो प्रमुख लक्ष्य रहेको बताएका थिए ।

तर, नेपाल उक्त विश्वकपको ग्लोबल छनोटमा समेत पुग्न असफल भएको थियो । पटवालको प्रमुख प्रशिक्षकत्वमा नेपालले टी–२० विश्वकपको एशिया पूर्वी क्षेत्र छनोट, सिंगापुर र ओमानमा टी–२० सिरिज, एसीसी इमर्जिङ टिम्स कप र १३ औँ साग खेलेको छ । तर, कुनैमा पनि नेपालले जित हात पारेको छैन ।

माघ २२ देखि २९ गतेसम्म काठमाडौँमा हुने ‘आइसीसी क्रिकेट विश्वकप लिग २’ पटवालको अन्तिम प्रतियोगिता हुनेछ । चारवर्षदेखि आइसीसीको निलम्बनमा रहेको क्यानको फकुवा भएकाले पटवालको राजीनामा पछि प्रमुख प्रशिक्षक नियुक्ति गर्ने जिम्मेवारी उसकै हुनेछ ।