बेइजिङ — अमेरिकाले कोरोना भाइरसका बारेमा ‘त्रास’ फैलाइरहेको चीनले आरोप लगाएको छ । चीनले सोमबार अमेरिकाले प्राणघातक कोरोना भाइरस नियन्त्रणका लागि सहयोगभन्दा बढी त्रास फैलाएको आरोप लगाएको हो ।


ADVERTISEMENT


सबै चिनियाँ यात्रुमाथि प्रतिबन्ध लगाएर अमेरिकाले त्रास फैलाएको चीनले आरोप लगाएको छ । ‘अमेरिकाले खासै महत्वपूर्ण सहयोग गरेको छैन। उसले केवल ‘त्रास’ मात्रै फैलाइरहेको छ,’ चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनिङले नियमित पत्रकार सम्मेलनमा बताइन् ।


ADVERTISEMENT

# # #


के गरेको थियो अमेरिकाले ?

अमेरिकाले शुक्रबार स्वास्थ्य संकटकाल घोषणा गर्दै पछिल्लो समय चीन भ्रमण गरेका सबै विदेशी नागरिकको प्रवेशमा रोक लगाएको थियो। अमेरिकी प्रतिबन्ध आफ्नै नागरिकमाथि पनि लाग्नेछ। कोरोना भाइरसको उद्गमस्थल रहेको हुबेईबाट फर्कने अमेरिकी नागरिकले अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा निगरानीमा बस्नुपर्छ।

सोमबारसम्म अमेरिकामा ११ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ। वुहानबाट सुरु भएको कोरोनाको प्रकोप अहिले विश्वका २७ मुलुकमा फैलिइसकेको छ।

यसअघि चीनले अमेरिकी व्यापार सचिव विल्बर रोसको अभिव्यक्तिको कडा आलोचना गरेकोथियो। रोसले कोरोना भाइरसका कारण अमेरिकामा थप रोजगार सिर्जना हुने विवादास्पद अभिव्यक्ति दिएका थिए। चीनले अमेरिकीले दुःखद घडीमा सहयोग गर्नुको साटो गलत उदाहरण स्थापना गरेको बताएको थियो।

कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरिसकेको छ। अहिलेसम्म कोरोना भाइरसका कारण ३६२ जनाको मृत्यु भइसकेको छ। त्यस्तै १७ हजारभन्दा बढीमा यसको संक्रमण भएको छ।

आइतबार चीनबाहिरत पहिलो पटक फिलिपिन्समा कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको थियो।