काठमाडौँ – नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चीनको वुहान सहरका नेपालीलाई उद्धार गर्न सरकारलाई अनुरोधसहित कोरोना सङ्क्रमणबाट सतर्कताका लागि सार्वजनिक अपिल गरेका छन् ।


ADVERTISEMENT


उनले आज वक्तव्यमार्फत कोरोनाका कारण जीवन गुमाएका सबै चिनियाँ नागरिकको परिवार र चीन सरकारप्रति काँग्रेसका तर्फबाट समवेदना व्यक्त गर्दै भाइरस नियन्त्रणका लागि चीन सरकारले गरिरहेको प्रभावकारी प्रयासको प्रशंसा गरेका छन् ।


ADVERTISEMENT

# # #


चीनको वुहान शहरमा देखिएको प्राणघातक कोरोना भाइरसको प्रकोपले कैयौँको मृत्यु भइसकेको छ भने यसबाट हजारौँ सङ्क्रमित भएका छन् । अन्तर्राष्ट्रिय रुपमा कोरोना सङ्क्रमण फैलिन शुरु भएको स्थितिमा विश्व स्वास्थ्य सङ्गठनद्वारा घोषित सङ्कटकाल र सङ्क्रमण सामना गर्न अन्य राष्ट्रले शुरु गरेको सम्पूर्ण सतर्कतासँगै नेपालले राख्नुपर्ने सतर्कता र सरकारले युद्धस्तरमा निर्वाह गर्नुपर्ने कर्तव्यबारे सजग गराउँदै सभापति देउवाले सार्वजनिक अपिल गर्नुभएको हो ।

सभापति देउवाले कोरोना भाइरस सङ्क्रमणको जोखिम र पूर्वसतर्कताबारे नेपाल सरकारले विविध माध्यमबाट नागरिक पङ्क्तिमा व्यापक सूचना सम्प्रेषण गर्न जरुरी रहेको उल्लेख गरेका छन् । उनले नागरिकलाई सुसूचित गर्ने अभियानमा साझा दायित्वका साथ महत्वपूर्ण भूमिका निर्वाह गर्न काँग्रेसका नेता तथा कार्यकर्तासँगै सबै राजनीतिक दल, सङ्घसंस्था र सञ्चारमाध्यमहरुलाई विशेष आग्रह गरेका छन् ।

‘नेपाल प्रवेशका सबै अन्तर्राष्ट्रिय नाकामा विशेष ‘हेल्थ डेस्क’ प्रभावकारी ढङ्गले सञ्चालन गर्न अपिल गर्दछु, ताकि कोरोना भाइरसको नेपाल प्रवेशलाई रोक्न सकियोस् । कैयौँ देशले चीनको वुहान शहरबाट आफ्ना नागरिकलाई स्वदेश फर्काइसकेको विवरण आएका छन् तर त्यहाँ रहेका करीब १०० नेपाली विद्यार्थीसँगै अन्य नेपालीलाई स्वदेश फर्काउन सरकारले कुनै गम्भीरता नदेखाउनु दुःखद र आपत्तिजनक छ । कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउँदै वुहानका नेपालीलाई यथाशीघ्र नेपाल ल्याउने प्रबन्ध मिलाउन म सरकारलाई अनुरोध गर्दछु’, सभापतिको विज्ञप्तिमा उल्लेख छ ।

उनले वुहानबाट नेपालीलाई उद्धार गरेर ल्याएपश्चात् स्वास्थ्य परीक्षणको प्रतिवेदन आउने निश्चित अवधिभर अलग्गै राख्ने शिविरको प्रबन्ध गर्न सरकारले तत्काल कार्य शुरु गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । सङ्क्रमण परीक्षणका लागि तत्काल राजधानीमा अलग्गै केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताउँदै सभापति देउवाले यसलाई गम्भीरतापूर्वक सोहीअनुसार कार्य गर्न सरकारलाई सचेत गराएका छन् ।

उनले कोरोना भाइरसको प्राणघातक सङ्क्रमणप्रति संयमपूर्वक सतर्कताका लागि काँग्रेस पार्टीका तर्फबाट स्वदेश र विदेशमा रहेका समस्त नेपालीमा विशेष अपिल पनि गरेका छन् ।