लक्की शेर्पा, अष्ट्रेलियाका लागि पूर्वराजदूत


ADVERTISEMENT


पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ? आफूलाई कसरी सक्रिय बनाउँदै हुनुहुन्छ ? 


ADVERTISEMENT

# # #


मलाई अष्ट्रेलिया र न्यूजील्याण्डको राजदूतको जिम्मेवारी दिइएको थियो । त्यसमा आफ्नो भूमिका निर्वाह गरिसकेपछि म अहिले नेपालको पछिल्लो घटनाक्रमलाई नियालीरहेकी छु । त्यसमा पनि आफ्नो कमिटी, संगठनसँगको सम्बन्ध लगायत विभिन्न विकाससम्बन्धी अध्ययन अनुसन्धानमा नै समय गइरहेको छ । नयाँ संविधानबाट प्राप्त अधिकार र नयाँ व्यवस्थालाई कानुन बनाउने क्रममा हामी धेरै चुकेका छौँ । विशेष गरी नेतृत्व तह नै यसमा चुकेको छ ।

संविधानले दिएको समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई विभिन्न पार्टीहरुले पूरै वेवास्ता गरेका छन् । जुन मुद्दा उठाएर हिजो उनीहरुले विभिन्न युद्ध/आन्दोलनहरु गरे, आज केही सीमित नेताहरुले मात्रै त्यसको लाभ लिएका छन् । देश बनाउने हिजो जुन सपना देखिएको थियो, आज त्यो केही व्यक्तिको सम्पन्नतामा मात्रै परिणत भएको छ । केही नेताहरुका लागि मात्रै जनताले आन्दोलन गरेका थिएनन् । यसलाई सच्याउने दबाब दिनका लागि मेरो ध्यान केन्द्रित हुनेछ ।

सरकारसँग अहिले दुई तिहाईको शक्ति छ । तर पनि काम अपेक्षाकृत हुन सकेनन् भन्ने जनगुनासो छ । सरकारको गति बारे के भन्नुहुन्छ ?

हामीले हाम्रो आर्थिक सूचकांक, मानव विकास सूचकांक हरौँ, हामी हाम्रो लक्ष्यभन्दा कति टाढा वा नजिक छौँ भनेर हेरौँ । हामी कस्तो पानी खाइरहेका छौँ ? त्यसैबाट हामी मूल्याङ्कन गरौँ । समाजको उच्च वर्गलाई होइन, गाउँ टोलको एउटा निम्नस्तरको जनतालाई हेरेर यसको मूल्याङ्कन गरौँ । उनीहरु हिजो कस्तो अवस्थामा थिए ? आज कस्तो भएका छन् ? युवा पलायनको अवस्था हिजो के थियो, आज के छ ? त्यो हेरौँ । हामी यही देशका नागरिक हौँ भन्ने अनुभूति भएको छ कि छैन ? त्यो हेरौँ । देशभित्रको स्रोत साधानलाई हामीले कत्तिको प्रयोग गरेका छौँ ? विदेशी लगानी कति भित्र्याएका छौ ? सरकारले कस्ता योजना वितरण गरिरहेको छ र जनताको प्राथमिकता के हो ? त्यसमा अध्ययन गरौँ । दुई चारजना सल्लाहकारले ‘बाहिर सब ठीक छ सरकार’ भनेकै आधारमा होइन, यथार्थका आधारमा हामी आफ्ना योजना तय गरौँ भन्ने लाग्छ ।

विदेशमा हुने सभासमारोहमा जानुभन्दा पहिले मन्त्रीहरुले त्यहाँको अवथा के छ भनेर सम्बन्धित देशका राजदूतावाससँग सल्लाह गरेर जानुपर्छ । आगलागीले देश सन्त्रासमा बाँचिरहेको छ, उहाँहरु आफ्नो अभियानको प्रचारको कार्यक्रम लिएर जाँदा त सुहाउँदैन नि ?

तपाईंले नेपालका लागि राजदूत भएर काम गरिसक्नु भएको छ । नेपालको वर्तमान कुटनीतिक अभ्यासलाई कसरी हेर्नुभएको छ ?

कुनैपनि देशको कुटनीति देशको स्वार्थलाई केन्द्रमा राखेर गरिनुपर्छ । कुटनीति कुनै व्यक्ति वा पार्टी केन्द्रित हुनहुँदैन । हाम्रो त कस्तो भयो भने कुनटनीति मै दुई तीनवटा रुपहरु आए । कसैलाई एकदमै बढी राष्ट्रवादी चरीत्र देखाउनुपर्ने समस्या त कसैलाई सीमित राष्ट्रमा मात्रै कुटनीतिलाई राख्ने प्रवृत्ति ।

सबैभन्दा पहिले हामी कुटनीति हाम्रो राष्ट्रको स्वार्थका लागि गरिरहेका छौँ कि छैनौँ भन्ने कुरामा हामी स्पष्ट हुनु आवश्यक छ । राष्ट्रिय स्वार्थमा सबै राजनीतिक नेतृत्वहरुको राय एउटै हुनुपर्छ । चाहे मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) होस् वा बेल्ट एण्ड रोड इनिसियटिभ्स (बीआरआई)मा हाम्रो राय एउटै हुनुपर्‍यो । अहिले यही विषयमा आफ्नै पार्टीभित्र पनि दुई धार छ । आफ्नै पार्टीभित्र पनि हामीले किन एकरुपता ल्याउन सकेनौँ ? किन परराष्ट्रमन्त्रीले एमसीसीको बारेमा राम्रोसँग जानरी प्रदान गर्न सकिरहनु भएको छैन ? पदमा बसेको मान्छेले अरुलाई देखाएर आफू पन्छिने गर्नु हुँदैन ।

अर्को कुरा, विदेशमा हुने सभासमारोहमा मन्त्री र सरकारी पदाधिकारीहरु जाने गर्छन् । तर, जानुभन्दा पहिले त्यहाँको अवथा के छ भनेर सम्बन्धित देशका राजदूतावाससँग सल्लाह गरेर जानुपर्छ । आगलागीले देश सन्त्रासमा बाँचिरहेको छ, उहाँहरु आफ्नो अभियानको प्रचारको कार्यक्रम लिएर जाँदा त सुहाउँदैन नि ? यस्ता कुराहरुमा विचार पुर्‍याउनु पर्छ ।

अष्ट्रेलियाका लागि नेपाली राजदूतका रुपमा रहँदा त्यहाँ रहेका नेपालीहरुलाई एउटा अभिभावकत्व दिनका लागि मैँले भरमग्दुर प्रयास गरेँ । अहिलेपनि मसँग उहाँहरु जोडिनु भएको छ ।

नेपाली राजदूत भएर काम गरिरहँदा अरु देशको हामीप्रतिको दृष्टिकोण कस्तो पाउनु भयो ?

एउटा विकासन्मुख देशको राजदूतलाई विकसित मुलुकले त्यतीधेरै महत्व दिँदैनन् । यो नेपालको मात्रै होइन, अन्य देशको हकमा पनि लागू हुन्छ । आफ्नो विकासका लागि हामी आफैले कोसिस गर्नुपर्छ । कुन हिसाबले हामीले उनीहरुलाई आफ्नो देशप्रति ध्यान केन्द्रित गराउने भन्ने कुरा हामीमै निर्भर रहन्छ ।

विदेशी कुटनीतिक नियोगमा जाने पदाधिकारीहरुलाई प्रशिक्षण दिएर पठाउने चलन हाम्रो देशमा छैन । त्यो गरिनु पर्छ । परराष्ट्र मन्त्रालयमा रहेका कमजोरीहरु, चाहे त्यो कामदारको विषयमा होस् वा बजेटको विषयमा । मन्त्रालयले विदेशी नियोगमा काम गर्नेलाई एउटा कर्मचारीका रुपमा नभई कुटनीतिज्ञका रुपमा उभ्याउनु पर्छ ।

अष्ट्रेलिया र न्यूजिल्याण्डका लागि नेपाली राजदूतका रुपमा आफ्नो कार्यकालभर के-के गर्नुभयो ?

मैँले कहिल्यै पनि आफू एउटा विकासन्मुख देशका राजदूतका रुपमा राखिँन । अष्ट्रेलिया र न्यूजिल्याण्डको राजदूतका रुपमा मैँले आफ्नो उत्कृष्ट दिने प्रयास गरेँ । जाने बित्तिकै मैँले त्यहाँको विदेश मन्त्रीसँग भेट गरेँ । अन्य देशका राजदूतहरुले मलाई फोन गरेर कसरी तिमीले विदेश मन्त्रीको समय पायौ भनेर सोध्थे । त्यहाँ रहेका नेपालीहरुलाई एउटा अभिभावकत्व दिनका लागि मैँले भरमग्दुर प्रयास गरेँ । अहिले पनि मसँग उहाँहरु जोडिनु भएको छ ।

यतिमात्र होइन, अष्ट्रेलिया जस्तो देशमा राजदूतावासको नाममा त्यत्रो जग्गा लिने काम भयो । २० लाख डलरको जगलाई १२ लाखमा झारेर हामी लिन सफल भयौँ । अहिले त्यहाँ नयाँ राजदूतावासले जग्गा लिन सकिरहेका छैनन् । आज अष्ट्रेलियाको जग्गामा नेपालको नाम छ । त्यसकारण त्यो पनि हाम्रो उपलब्धी हो ।

अरु देशसँगको सम्बन्धलाई हामीले विकास कुटनीतिमा परिणत गर्नका लागि के गर्नुपर्छ ?

हाम्रो छेउमा दुई विश्वको अर्थतन्त्रमा उदाउँदै गरेका चीन र भारत छन् । उनीहरुबाट हामीले लाभ लिन सकेका छैनौँ । किनभने हामीले उनीहरुको विश्वास जित्न सकेका छैनौँ । हाम्रो कुटनीतिले त्यसतर्फ जानुपर्छ । भौगोलिक रुपमा सानो भएपनि चीन र भारत दुवैका लागि नेपाल एकदमै महत्व बोकेको मुलुक हो । त्यसका लागि हामीले उनीहरुको विश्वास जित्नुपर्‍यो । एउटा एमसीसीको विषयमा एउटै पार्टीबाट विभिन्न विचार निस्किन्छ भने हामी उनीहरुको नजरमा कसरी विश्वासिलो बन्न सक्छौँ ?  यसमा हामी चुक्नु हुँदैन ।

सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को अभियान अघि सारेको छ । यसलाई सार्थक तुल्याउनका लागि विकसित छिमेकी देशहरुको सहयोगलाई कसरी उपयोग गरिनुपर्छ ?

ठूलो भवन बनाउने मात्रै विकास होइन । जनता कति खुसी छन् ? विकास जनताकेन्द्रित हुनुपर्‍यो । युरोप अमेरिकाले हेर्ने त्यही हो । आज चीनले पनि त्यही हेरिरहेको छ । चीनमा एकदमै विकास भएको छ । तर, त्यहाँका जनता किन खुसी छैनन् त ? समृद्धि भनेको खुसीसँग जोडिएको छ जस्तो मलाई लाग्छ । जनताको मन मस्तिष्कमा खुसी ल्याउने अभियान हामीले राख्नुपर्छ । हाम्रो देश भौगोलिक, सांस्कुतिक विविधताले भरिएको छ । तर, यही सबै हुँदाहुँदै पनि हामीले यसलाई प्रवर्द्धन गर्न वा बेच्न सकिरहेका छैनौँ । यसबारे सरकारले सोच्नुपर्छ । जनता खुसी छैनन् भने समृद्धिको नारा लगाएर के काम ?

अहिले मन्त्रालयबीच सहकार्यको अभाव छ । विकासको कुरा गर्‍यो, वन मन्त्रालयले रोकिदिन्छ । निजगढमा एयरपोर्ट बनाउने कुरा अघि बढाउँदा वन मन्त्रालयमा उजुरी परिरहेको हुन्छ । यस्ता कुराहरुमा सहकार्य आवश्यक हुनुपर्छ । जब नेतृत्वले व्यक्तिगत स्वार्थलाई त्यागेर, जनता केन्द्रमा राखेर काम गर्छ तब मात्रै विकास सम्भव हुन्छ ।

अन्त्यमा, भविष्यमा आइपर्ने भूमिकाका लागि कत्तिको तयार हुनुहुन्छ ?

राज्यले दिने भूमिका, पार्टी नेतृत्वले दिने जिम्मेवारी भनेको उहाँहरुलाई मेरो आवश्यकता पर्‍यो भने हुन्छ । तरपनि म अहिले बाहिर बसेपनि सहयोग गरिरहेकी छु । हिजो पनि गरेकी थिएँ । मैँले कहिल्यै व्यक्तिगत स्वार्थको लागि काम गरिनँ । देश र पार्टीको लागि काम गरेँ । मैँले अष्ट्रेलियामा रहँदा गरेका कामलले देशलाई नै सहयोग गरेको छ । यदि मैँले कुनै व्यक्तिलाई खुसी पार्न लागेको भए, आज राजदूतबाट बाहिर निस्किनुपर्ने हुँदैनथ्यो । तर, मैँले त्यो गरिनँ । किनकी देशको स्वार्थ नै जहिले मेरो लागि केन्द्रबिन्दुमा रह्यो । त्यसकारण मेरो आवश्यकतालाई महसुस गरेर जिम्मेवारी दिनुभयो भने म त्यसका लागि तयार छु ।