पोखरा – गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेका छन् ।


ADVERTISEMENT


सांसद मनाङले मंगलबारदेखि पोखरामा सुरु भएको मुख्यमन्त्री कप फुटबलको उद्घाटन कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष तथा एन्फा कास्कीका अध्यक्ष गुरुङलाई झापड हानेका हुन् ।


ADVERTISEMENT

# # #


प्रतियोगिता सञ्चालनमा अनियमितता गरेको, सहभागिताका लागि आएको मनाङको टोलीलाई प्रतियोगिता सार्दा पनि खबर नगरेको लगायतका विषयमा असन्तुष्टि जनाउँदै मनाङ्गेले मंगलबार गुरुङलाई हातपात गरेका हुन् ।

मनाङेविरुद्ध गुरुङको जाहेरी

मनाङेले झापड हानेपछि गुरुङले प्रहरीमा जाहेरी दिएका छन् । खेलाडीहरुको खाने बस्ने व्यवस्था आफूले मात्र नभइ कमिटीले नै गर्ने विषय भएको तर सांसद मनाङ्गेले वार्ता गर्नुको साटो खेल मैदानमा नै कुटपिट गरी अभद्र व्यवहार गरेको भन्दै उनले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका छन् ।

उनले मनाङेलाई मुलुकी फैजदारी संहिता २०७४ को दफा ११८ को कसुरमा कारबाही गर्न माग गरेका छन् ।

मनाङेको प्रश्न : ‘ठग’लाई हान्दा यत्रो कुरा ?

यता मनाङले भने गुरुङमाथिको हातपात सही भएको बताएका छन् । मनाङेले बुधबार पत्रकार सम्मेलन गरेर गुरुङलाई झापड हान्दा ठूलो इस्यू बनाइएको भन्दै आक्रोश व्यक्त गरे । उनले गुरुङलाई ठगको संज्ञा दिए ।

मनाङेले प्रतियोगिता सञ्चालनका लागि अध्यक्ष गुरुङले अनियमितता गरेको आरोप लगाए । प्रतियोगिताको व्यवस्थापन प्रति चरम असन्तुष्टि जनाउँदै उनले आयोजकले खेलाडीहरुमाथि जोक गरेको आरोप लगाए । ‘टाइसिट (खेल तालिका) निकाल्दा पनि नियमपूर्वक भएको छैन । प्रत्येक जिल्लाका एन्फाका अध्यक्षहरु बसेर निकाल्ने हो । तर केही खबर गरेनन् ।’ उनले भने, ‘राम्रो टिमलाई एक ठाउँमा र नराम्रो टिमलाई एक ठाउँमा पारेका छन् ।

‘तपाईंको अठार जना बच्चा अलपत्र पर्दा के गर्नुहुन्छ ?’ उनले प्रश्न राख्दै गरे, ‘मैले एउटा ठगलाई हान्दा यत्रो कुरा ? ।’ ठगी गर्नेहरुलाई झापड हान्नुपर्ने उनको भनाई थियो । कास्की एन्फा अध्यक्ष मिलन गुरुङले पैसा नभएको चेक दिएको फोटोकपी पनि उनले पत्रकारहरुलाई बाँडेका थिए ।

गुरुङले जाहेरी दिएका छन् नि भन्ने सञ्चारकर्मीका प्रश्नमा मनाङेले मिलनविरुद्ध आफूले पनि ५० वटा जाहेरी दर्ता गराउँन सक्ने उनले दावी गरे । ‘म विरुद्ध जाहेरी दिने ?’ उनले भने, ‘मैले त्यस्ता जाहेरी त ५० वटा दिन सक्छु ।’