विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताको विकास र समृद्धिको चाहना पुरा हुने गरी काम गर्न मन्त्री र राज्यमन्त्रीहरुलाई निर्देशन दिएका छन् ।
आइतबार नियुक्त भएका राज्यमन्त्रीहरुलाई निर्देशन दिदै मुख्यमन्त्री राईले प्रदेशवासीको विकास र समृद्धिको चाहनालाई ध्यानमा राखेर काम गर्न निर्देशन दिएका हुन्। ‘महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेसँगै तपाईहरुको अग्निपरीक्षा सुरु भयो’ मुख्यमन्त्री राईले भने, ‘तपाईहरुले यो ऐतिहासिक कार्यभार सफल रुपमा वहन गर्नुहुनेछ ।’
मुख्यमन्त्री राईले दुई दिनभित्र प्रष्ट रुपले कार्यविभाजन गरेर काम गर्न मन्त्री र राज्यमन्त्रीहरुलाई निर्देशन समेत दिए। ‘काम गर्न तपाईहरु अल्मलिनु पर्दैन्’, मुख्यमन्त्री राईले भने, ‘कामको आधारमा जिम्मेवारी बाँडफाड र एक आपसमा छलफल गरेर राम्रो नतिजा देखाउनुहोस् ।’
कुनै पनि विवादास्पद निर्णय नर्गन निर्देशन दिदैं मुख्यमन्त्री राईले आत्तिने, मात्तिने र अयोग्य हुने छुट नरहेको समेत बताए । आफूले भ्रष्टचारमा शुन्य सहनशिलताको नीति अख्तियार गरेको बताउँदै मुख्यमन्त्री राईले कामलाई छिटो, छरितो र पारदर्शी ढंगले अगाडि बढाउन मन्त्री र नव नियुक्त राज्यमन्त्रीहरुलाई निर्देशन दिए।
मुख्यमन्त्री राईले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम चार जना प्रदेश १ का प्रदेश सभा सदस्यहरुलाई राज्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए ।
अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार, इलामका रामबहादुर मगर (कृषि तथा सहकारी), झापाकी जसमाया गजमेर (सामाजिक विकास) र मोरङका विजयकुमार विश्वास (पर्यटन राज्मन्त्री)ले आज पद तथा गोपनियताको शपथ लिएका थिए ।