काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सम्पन्न नेकपाको सचिवालयको बैठकले उक्त निर्णय गरेको हो ।


ADVERTISEMENT


यसअघि आजै  सचिवालय बैठकअघि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सापकोटालाई सभामुखको उम्मेदवार बनाउनेमा सहमति जुटेको थियो ।


ADVERTISEMENT

# # #


सभामुख र उपसभामुख फरक फरक दलबाट चयन हुनुपर्ने संवैधानिक व्यवस्था भएका कारण वर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले अब राजीनामा दिनुपर्ने छ । उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन नेकपा सचिवालयको यसअघिको बैठकले आग्रह गरिसकेको छ । यस्तो अवस्थामा कांग्रेसले उपसभामुख पाउने बाटो खुल्नेछ ।

गत पुस ४ गतेदेखि सङ्घीय संसद्को पाँचौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको बैठक शुरु भए पनि सभामुखको निर्वाचन कार्यतालिका र उम्मेदवार चयनमा राजनीतिक सहमति नहुँदा स्थगन हुँदै आएको छ ।

संसद् सचिवालयका एक महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १५ गते पदबाट राजीनामा दिएका थिए । हाल उनी पुर्पक्षका लागि थुनामा रहेका छन् ।

सम्बन्धित समाचार
मलाई सभामुखको उम्मेदवार नबनाएसम्म राजीनामा दिन्न, ताकत छ भने संविधानमा टेकेर निकालियोस् : उपसभामुख तुम्बाहाङ्फे