काठमाडौँ – चौरजहारी नगरपालिकामा खानेपानीको समस्या समाधान गर्न भेरी नदीको सहारा लिइएको छ  । रुकुम पश्चिमको चौरजहारी उपत्यका नजिक खानेपानी नभएका कारण भेरी नदीको पानी लिफ्टिङ गरेर ल्याई खानेपानीको समस्या हल गर्न लागिएको हो । भेरी नदीबाट चौरजहारीमा पानी ल्याउने काम अब पाँच प्रतिशत मात्र रहेको जनाइएको छ ।


ADVERTISEMENT


विजयश्वरी–चौरजहारी सुक्खा क्षेत्र खानेपानी आयोजना निर्माणको काम अन्तिमचरणमा पुगेसँगै यहाँका स्थानीयवासी खुशी भएका छन् । चौरजहारी नगरपालिकाका– १, २, ३ र ४ का स्थानीयवासीको खानेपानीको समस्या समाधान गर्न सङ्घीय सरकारले सुक्खा क्षेत्र खानेपानी आयोजनाको काम अघि बढाएसँगै यहाँको खानेपानीको समस्या समाधान हुन लागेको हो  । आयोजनाको काम अब थोरै मात्रै बाँकी रहेको विजयश्वरी–चौरजहारी सुक्खा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ । संस्थाका अनुसार आयोजनाका भौतिक संरचनामा रङरोगन गर्ने र केही फिल्टरमा पम्प जडानको काम मात्र बाँकी छ ।


ADVERTISEMENT

# # #


आयोजना निर्माणको काम सम्पन्न हुने क्रममा रहेकाले उपभोक्ताको तर्फबाट हुनुपर्ने आवश्यक तयारीलाई अघि बढाइएको संस्थाका अध्यक्ष तेजबहादुर बटालाले बताए । आयोजनाको सदस्य बन्न उपभोक्ताबाट रु पाँच हजार नगद सङ्कलन र धारा जडानको काम भइरहेको उनले जानकारी दिए  । खानेपानी घरघरमा लिन उपभोक्ता आफैँले सामग्री खरीद गरी धारा जडानको काम गरिरहेको आयोजनाले बताएको छ  ।

चार वटा वडामा एक हजार ६४५ उपभोक्ताको घरमा खानेपानी पुग्ने र यसले लामो समयदेखिको समस्या समाधान गर्ने बटालाको भनाइ छ । भेरी नदीको पानी लिफ्टिङ गरेर खानेपानी आयोजना बनाइएको हो । सिएबी कन्स्ट्रक्सन कम्पनीले रु १६ करोडको लागतमा आयोजना बनाएको हो । विसं २०७५ साउन १ देखि निर्माण शुरु भएको थियो । यसै आर्थिक वर्षभित्रै आयोजनाको काम सक्नुपर्ने भए पनि त्यसको चार महिनाअघि नै आयोजना हस्तान्तरण हुने निर्माण कम्पनीले जनाएको छ । कम्पनीका प्रतिनिधि प्रवीर डाँगीले भने, “संरचना रङरोगनको काम मात्रै बाँकी छ, आयोजनाको ९५ प्रतिशत काम सकिएको छ । बाँकी काम पनि निरन्तर गरिरहेका छौँ । हामी वैशाख १ मा हस्तान्तरण गर्ने तयारीमा छौँ ।”

प्रतिसेकेण्ड २० लिटर पानी

आयोजनाका लागि चौरजहारी–३ को मटेला कैँचाबाट भेरीको पानी लिफ्टिङ गरिएको संस्थाले जनाएको छ । प्रतिसेकेन्ड २० लिटर पानी आउने बताइएको छ । आयोजनामा ९ ट्याङ्की र एउटा फिल्टर प्लान्ट निर्माण भएको छ । पानी लिफ्टिङका लागि भेरीको छेवैमा २ वटा इनार बनाइएको छ । वर्षाको समयमा पनि खानेपानीका लागि लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य हुन लागेकोमा उपत्यकावासी खुशी छन् ।

रुकुम पश्चिममा ठूलो व्यापारिक केन्द्र रहेको चौरजहारीमा खानेपानी समस्याकै कारण यहाँका स्थानीयवासी समस्या भोग्दै आएका थिए । रासस