काठमाडौँ – सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेकपाका नेता भीम रावलको प्रधानमन्त्री निवास बालुवाटारका मान्छेबाट आफूलाई ज्यान मार्ने धम्की आएको अभिव्यक्तिमा कुनै सत्यता नभएको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भीम रावलमाथि आएको कुरा पत्यार लाग्दो नभएको जिकिर गरे । ‘तपाईंलाई पत्यार लाग्छ ? प्रधानमन्त्री त्यस्तो खालको हुनुहुन्छ र कसैको ज्यानै लिने !’ प्रवक्ता बाँस्कोटाले भने, ‘प्रधानमन्त्री बहस गर्न रुचाउनुहुन्छ । त्यो सबैलाई मन पर्न सक्छ, मन नपर्न सक्छ । आलोचना वा टिप्पणी हुनसक्छ । ज्यान मार्ने धम्कीको कुनै सत्यता छैन, हुँदा पनि होइन ।’


ADVERTISEMENT

# # #


बालुवाटारबाट त्यस्तो धम्की आएको भए नेता रावलले खुलस्त रुपमा भन्नुपर्ने बाँस्कोटाले उल्लेख गरे । उनले भने, ‘उहाँले यस्ता नम्बरबाट, यो मान्छेले धम्की दियो भनेर बताइदिनुपर्छ । त्यस्तालाई हामीले कारबाही गर्नुपर्छ ।’ विचार व्यक्त गरेकै आधारमा, कुनै कुरामा सहमति, असहमति जनाएकै आधारमा कसैमाथि ज्यानको धम्की दिन नमिल्ने उनले बताए ।

भीम रावलको सुरक्षाको व्यवस्था सरकारले नै मिलाएको बताउँदै उनले भने, ‘उहाँको पछुवा (सुरक्षामा खटिएको गाडी) पनि छ र साथमा अरु सुरक्षाकर्मीहरु छन् । त्यसैले उहाँको ज्यानमाथिको सुरक्षा खतरा छ भन्ने मलाई लाग्दैन ।’ प्रधानमन्त्री ओलीले आफ्नै कार्यकर्ताविरुद्ध तरबार बोकेर हिंड्नुहुन्छ र खल्तीभरि गोलीको माला भिरेर हिंड्नुहुन्छ भन्ने कुरा सोच्नु गलत भएको उनले बताए ।

सगरमाथा टेलिभिजनको कार्यक्रम एसटिभी च्याटमा नेता रावलले राष्ट्र हित विपरीत गरिएका एमसिसी लगायत सम्झौता र निर्णयको विरोध गर्दा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मान्छेबाट ज्यान मार्ने धम्की आएको बताएका थिए ।