बलेवा – “हामीले आफूलाई आवाजविहीनहरुको आवाज भन्यौँ तर कताकता तिनै आवाजविहीनको आवाज बोल्न सकिरहेको जस्तो लाग्दैन”, पत्रकार लोकेन्द्र सुनारले आफ्नो धारणा राख्दै गर्दा अधिकांश पत्रकार उपस्थित रहेको नेपाल पत्रकार महासङ्घ बागलुङको सभाकक्ष सुनसानै भयो । उनी देशको वर्तमान अवस्था र सामाजिक उत्पीडनको विषय समाचार सामग्रीमा नपरेको भन्दै थिए।


ADVERTISEMENT


पत्रकार विभाजित हुँदा तल्लो तहमा उत्पीडनमा परेका समुदायको विषयमा समाचार सामग्री नबनेको उनको गुनासो थियो । “देशको कानूनले बन्देज गरेको छुवाछूतजस्तो अपराध गाउँघरमा भइरहेकै छ”, सुनारले भने, “मिलापत्रमा टुङ्गिएका अपराधका विषयमा हामीले कहिल्यै चासो राखेनौँ ।” दलित पत्रका मञ्च बागलुङको तेस्रो अधिवेशन पत्रकार महासङ्घको भवनमा चलिरहेको थियो । अधिवेशनको उद्घाटनसत्रमा पत्रकारितासँग सम्बन्धित विभिन्न सङ्गठनमा आबद्ध पत्रकारले आआफ्नो धारणा राखे ।


ADVERTISEMENT

# # #


कार्यक्रममा अधिकांशको धारणा समान खालको थियो । उनीहरुले सङ्गठनको बलमा परिवर्तनको आवाज बोल्नुपर्नेमा जोड दिए । “पार्टीगत विभाजनले न्यायका लागि लड्नेहरुलाई बेलाबेलामा छुटाइरहेको हुन्छ”, सुनारले भने, “उत्पीडनका विरुद्धमा हामी मात्रै होइन, सबै सँगै लाग्नु जरुरी छ ।”

पत्रकार महासङ्घ बागलुङका अध्यक्ष दिल शिरीषले सङ्गठन निर्माणले मात्रै ठूलै परिवर्तन हुन्छ भन्ने सोच राख्ने गरेका कारण सोचेको जस्तो प्रगति हुन नसकेको बताए। पत्रकारिताका क्षेत्रबाट हुन सक्ने परिवर्तनलाई समेत सङ्गठनहरुको गलत मनसायले असर गर्ने छ भन्दै उनले त्यसतर्फ सजग हुन आग्रह गरे । कुनै जाति र वर्गसँग जोडिएर बनेका सङ्गठनले त्यही जाति वा वर्गको वकालत मात्रै नगरेर समग्र समाजको अवस्थाको वकालत गर्न जरुरी रहेको वक्ताको भनाइ थियो ।

कार्यक्रममा ‘ढोरपाटन’ दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहराले समाजको वास्तविकतामा आधारित रहेर परिवर्तनका लागि आवाज उठाउनुपर्नेमा जोड दिए। प्रेस सङ्गठन नेपाल केन्द्रीय अनुशासन विभागका सदस्य कोपिला कँडेलले वास्तविकतामा आधारित पत्रकारितामा जोड दिए। प्रेस सङ्गठन बागलुङका संयोजक उमाकान्त शर्माले संस्था पत्रकारितामार्फत समाजमा रहेको उत्पीडन अन्तका पक्षमा रहेको बताए । प्रगतिशील पत्रकार सङ्घ बागलुङका सचिव विजय रानाले समाजको सोच बदल्न सङ्घर्षको आवश्यकता रहेको बताए।

मञ्चका संस्थापक सज्जनकुमार सिंहले शहरबजारमा भन्दा गाउँका नागरिकको अवस्था दयनीय छ भन्दै पत्रकारिताको नजर गाउँसम्म पुग्नुपर्नेमा जोड दिए । “हामीले विचार सामग्री र समाचारमार्फत यो समाज परिवर्तन गर्नुछ”, उनले भने, “उत्पीडनविरुद्ध लड्नकै लागि सङ्गठन निर्माण भएको थियो ।”

अध्यक्षमा पुनः खाती

अधिवेशनले अनिस खातीकै अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिका उपाध्यक्षमा नवीन विक, महिला उपाध्यक्षमा मीनु विक, सचिवमा नवराज परियार, सहसचिवमा लक्ष्मी सुनार र कोषाध्यक्षमा देवी बोहोरा चयन भएका छन् । त्यस्तै सदस्यमा कृष्ण संयोग, सुमन सुनार, योगेन्द्र विश्वकर्मा, धनबहादुर विक, कञ्चन परियार, शिव बोहोरा, लक्ष्मी परियार, कृष्णसमीर शाही र विनोद विश्वकर्मा रहेका छन् । यसैगरी सल्लाहकारमा सिंह, लोकेन्द्र निराशी, बोहोरा, गणेश नेपाली र महेश खातीलाई चयन गरिएको छ । रासस