– डा. शिवमाया तुम्बाहाङ्फे, उपसभामुख, प्रतिनिधिसभा

सत्तारुढ दल नेकपाले सभामुखको उम्मेदवारको नाम टुंगो लगाउन नसक्दा लामो समयदेखि संसद बन्धक बनिरहेको छ । यसबारे के भन्नुहुन्छ ?


ADVERTISEMENT


अहिले प्रतिनिधिसभाको बैठक सुचारु हुनुपर्थ्यो । तर, त्यो हुन सकेको छैन । यस्तो अवस्थामा दललाई मैँले बैठक सुचारु गर्ने वातावरण सिर्जना गरिदिनु पर्‍यो भनेर आग्रह गरेँ । दलले यसलाई निकास दिनुपर्छ । दलले निकास दिनु भनेको आफ्नो उम्मेदवार तयार गर्नु हो । आफ्नो उम्मेदवार जबसम्म तयार हुँदैन, तबसम्म हाम्रो निर्वाचन प्रक्रिया अगाडि बढ्दैन । अहिले जुन घटना भइरहेको हामी देखिरहेका छौँ, यही कारणले निर्वाचन प्रक्रिया अगाडि बढाउन सकेनौँ । त्यसैले मैँले आफ्नो उम्मेदवार तयार गर्न दललाई आग्रह गरेको छु ।


ADVERTISEMENT

# # #


त्यो भन्दा पहिले नेकपा सचिवालय बैठकले निर्णय गरेरै तपाईंलाई उपसभामुखबाट राजीनामा दिएर सभामुख चयनको मार्गप्रशस्त गरिदिन दबाब दिइरहेको छ । तर, पनि तपाईं राजीनामा नदिने अडानमा हुनुहुन्छ नि ?

दल (नेकपा)ले के बुझ्नुपर्छ भने प्रतिनिधिसभाको सदस्य बन्नका लागि पनि मलाई यही दलले अगाडि बढाएको हो । दलकै सदस्यको हैसियतले आम निर्वाचनमा उम्मेदवार बनाएर यसैले उपसभामुखको पनि उम्मेदवार बनाएर निर्वाचित भएँ । प्रतिनिधिसभा एक संस्था, त्यसको उपसभामुखमा म निर्वाचित भइसकेपछि मैँले दलको साधारण सदस्यसमेत नरहने गरी राजीनामा गरेँ । अहिले म स्वतन्त्र ढंगले बसेको छु । यहाँ (प्रतिनिधिसभा) भित्रको भूमिका मैँले स्वतन्त्र भएर गर्नुपर्छ । स्वतन्त्र भूमिका निर्वाह गरिरहँदा अहिले हाम्रो सभामुख पद रिक्त छ । पद रिक्त भएमा हामीले निर्वाचन प्रक्रिया अगाडि बढाउनु पर्ने हुन्छ । यस्तो अवस्थामा पनि दलले आजसम्म आफ्नो उम्मेदवार तयार गर्न सकेको छैन । उम्मेदवार तयार नगरेसम्म यसको निर्वाचन प्रक्रिया अगाडि बढ्न सक्दैन । त्यसैले हामीले छिटोभन्दा छिटो उम्मेदवार तयार गर्नुहोस् भनेका छौँ ।

जबसम्म दलले आफ्नो उम्मेदवार बनाउन सक्दैन, तबसम्म मैँले प्रतिनिधिसभालाई नेतृत्वविहीन बनाउन सक्दिनँ । किनकी संविधानले यो संस्थालाई नेतृत्व गर्नका लागि जिम्मेवारी दिएको छ । संविधानले भनेको कुरा म काट्न सक्दिनँ । जसका कारणले मैँले प्रतिनिधिसभाको उपसभामुखबाट राजीनामा दिन सकेको छैन । किनकी यो प्रतिनिधिसभालाई नेतृत्वविहीन बनाएर मैँले छोड्न मिल्दैन ।

संविधानले प्रतिनिधिसभालाई नेतृत्वविहीन भएको परिकल्पना गरेको मैँले देखेको छैन । त्यसैले नेतृत्व प्रदान गरिरहेको छु । दलले आफ्नो उम्मेदवार तयार गरिसकेपछि भने निर्वाचन प्रक्रियालाई अगाडि बढाउन सबै प्रक्रिया म पूरा गरिदिन्छु ।

मैँले राजीनामा दिएँ भने उपसभामुखको पद पनि खाली हुन्छ । उपसभामुख र सभामुखको निर्वाचन सँगै हुँदैन । सबैभन्दा पहिले सभामुख पदको निर्वाचन अगाडि बढाउँछौँ । त्यो पूरा भइसकेपछि उपसभामुखको निर्वाचन हुन्छ । भनेपछि यो बीचमा राजीनामा नदिएर अप्ठ्यारो पार्‍यो भन्ने कुनै गुन्जायसै छैन । त्यसकारण मैँले प्रतिनिधिसभालाई रिक्त बनाएर वा नेतृत्वविहीन गरेर म जान सक्दिँन । त्यही भएर मैँले राजीनामा दिन्न भनेको हुँ ।

भनेपछि, दलले सभामुखको उम्मेदवार खडा गरेको खण्डमा यहाँको राजीनामा आउँछ ?

राजीनामा आउँछ । तर, त्यसको अवस्था हुन्छ ! तर, दुई दिन अघि नै नेकपाले सभामुख पद आफुले लिने औपचारिक रुपमा निर्णय गर्‍यो । मैँले के बुझेँ भने उपसभामुख पहिले त्यही दलले मलाई बनायो । सत्ता पक्षले सभामुख पद लिएमा मैँले यो पद छाड्नुपर्छ । संवैधानिक व्यवस्था पनि यही हो । त्यसपछि मैँले यो पद रिक्त गरेँ भने अघि व्याख्या गरेअनुसार केही समयलाई यो संसद नेतृत्वबिहिन हुनसक्छ । तर, संसदलाई लामो समयसम्म नेतृत्वविहीन बनाउने पक्षमा म छैन ।

यदि गत पुस ४ गते अगाडि नै नेकपाका नेताहरुले बोलेको सुनेर मैँले राजीनामा दिएको भए संसदको नेतृत्व लामो समससम्म रिक्त रहन्थ्यो । कम्तिमा मैँले त्यो अवस्थालाई त आउन दिइँन नि ! मैँले पनि म त्यस्तो अवस्था सिर्जना हुनु हुँदैन भनिरहेकै छु । संविधानतः मैँले आफ्नो कुरा राखेको छु र त्यही अडानमा म छु । छोटो समयका लागि हुन्छ भने म निर्वाचन प्रक्रिया अगाडि बढाउन सहयोग गर्छु ।

सभामुख सत्ता पक्षले लिँदा संवैधानिक व्यवस्था अनुसार उपसभामुख अर्को पार्टीले पाउँछ । त्यसभन्दा अघि तपाईंले उपसभामुखबाट राजीनामा दिनु पर्छ । यस्तो अवस्थामा आफू सभामुख बन्ने अवस्था नआएसम्म उपासभामुखको पद छोड्दिँन भन्ने अडान हो तपाईंको ?

सभामुख पद सत्ता पक्षले लिन्छु भनिसक्यो । यसले त्यो निर्णय अनुसार अघि बढ्यो भने मैँले उपसभामुख छोड्नुपर्छ । मैँले दलका नेताहरुलाई के भनेकी छु भने, तपाईहरुले मलाई निर्देशन जारी गर्नैपर्दैन । संविधानमै यो कुरा लेखिएको छ । तर, खाली गर्ने अवस्था मैँले भनिहालेँ । तर, कुरा के हो भने

मैँले उपसभामुख पद किन छोड्ने ? मलाई त दलले पाँचवर्षसम्म उपसभामुखको काम गर भनेर पठाएको हो । अब तीन वर्ष बाँकी रहेको अवस्थामा सत्तारुढ दलले सभामुख लिएपछि मैँले उपसभामुख छोड्नुपर्छ । छोड्नु भनेको रिङ्गभन्दा बाहिर जाऊ भन्ने होइन । मैँले पाँच वर्षसम्म त काम गर्न पाउनु पर्‍यो नि !

सभामुखमा तपाईंको दाबी कत्तिको स्वभाविक हो ?

यस्तो अवस्थामा सभामुख दाबी गर्नु स्वभाविक हो । यो भन्दा अघिको अभ्यासलाई हेर्ने हो भने पनि हामीले उपसभामुखलाई सभामुख बनाएका छौँ । त्यो विकल्प त छ नि ! अर्को कुरा सभामुखमा उम्मेदवार बनाउँदिन भन्यो भने दलले मलाई यो उपसभामुखले राम्रो काम गरेन, भ्रष्टाचारी हो, यौन दुराचारी वा बद्मास हो त्यसकारण तिमीलाई सभामुखको उम्मेदवार बनाउन सक्दिँन भनेर पुष्टि गर्नुपर्छ । आरोप मात्रै लगाउने होईन, पुष्टि गर्न सक्नुपर्छ । 

पुष्टि हुँदाहुँदै पनि मैँले पद छाड्न मानिन भने तपाईहरुले दुईवटा काम गर्नुपर्छ । दलले संविधानको धारा ९१ को उपधारा ६ लाई टेकेर तपाईंहरु (नेकपा)ले आफ्नो पार्टीबाट सांसद बनाएर उम्मेदवार बनाउनु भएको छ, त्यहाँबाट निकालिदिनुहोस् । यदि त्यो गर्न तपाईहरुलाई अप्ठ्यारो लागेमा ९१ को उपधारा ६ को (ग) अनुसार पदअनुकुल आचरण नगरेको भन्दै प्रतिनिधि सभा सदस्यको बहुमतले निकाल्न पाइन्छ ।

कि मैँले बद्मासी गरेको भनेर तपाईंहरुले पुष्टि गर्नुपर्‍यो, कि संविधान टेकेर निकालिदिनुहोस् ।  त्यसमा मलाई कुनै चिन्ता हुँदैन, गुनासो हुँदैन । राजनीतिक क्षेत्रमा त म जहाँ पनि रमाउन सक्छु । देशको निम्ति केही न केही योगदान गर्नसक्छु ।

दलले भनेको नमानेमा कारबाही गर्ने चेतावनी पनि मैँले बाहिर सुन्ने गरेको छु । गरे हुन्छ त । तर, कारबाही गर्दा पुष्टि गर्नुपर्‍यो । पुष्टि गर्न नसके कारबाही कसरी हुन्छ ? हेरौं न त म पनि !

अहिलेको अवस्थामा उपसभामुख प्रतिनिधिसभाको प्रमुख हो । संविधान अनुसार मैँले सपथ  लिएको छु । संविधान अनुसार नै म अगाडि बढ्छु । संविधानलाई टेकेर मलाई जे-जे गर्नसक्नुहुन्छ गर्नुहोस् भनेर मैँले दुबै अध्यक्षलाई भनिसकेको छु । त्यसमा मलाई कुनै आपत्ति हुँदैन ।

तपाईंको ‘बटम लाईन’ नै सभामुख हो ?

हो । त्यही कारणले अड्किएको हो । दलले यसलाई निकास दिनुपर्छ । प्रतिनिधिसभालाई यसरी अप्ठ्यारोमा पुर्‍याइनु हुँदैन ।

अब यसको समाधानको बाटो के हुनसक्छ ? दललाई के भन्न चाहनुहुन्छ ?

दलले दिएको निर्देशन म मान्दिँन । किनभने यो संस्थाको पदमा बसेको एउटा व्यक्तिलाई अर्को दलले निर्देशन दिन मिल्दैन, आग्रह मात्रै गर्न मिल्छ ।

यो नेकपाका नेतृत्व तहमा बसेका नेताहरुले पनि बोल्नु भएको छ । अर्को कुरा के हो भने

प्रतिनिधिसभा त एउटा स्वतन्त्र संस्था हो नि । यो स्वतन्त्र संस्थाको पदमा बसेको व्यक्तिलाई कुनै दलले निर्देशन दिएर निस्की, राजीनामा दे भन्न पाइन्छ ? मेरो भनाई के हो भन्दा प्रतिनिधिसभाले स्वतन्त्र रुपमा आफ्नो अस्तित्वमा बस्न पाउनुपर्छ, स्वतन्त्र ढंगले काम गर्न पाउनुपर्छ । यही नजिरलाई स्थापित गर्ने मेरो जोड हो । प्रतिनिधिसभालाई नेतृत्वविहीन बनाउनु हुँदैन भन्ने बाहेक यसमा मेरो कुनै स्वार्थ छैन  ।

यसबारे सत्तारुढ दलका दुईजना अध्यक्षसँग कुराकानी गर्नुभएको छ ?

मैँले हिजो (आईतबार) मात्रै दुईजना अध्यक्षसँग कुराकानी गरेको थिएँ । पुष २७ गते म बैठक चलाउन भनेर बानेश्वर जाँदै थिएँ । उहाँहरुले बैठकको बारेमा सल्लाह गरौँ भनेर बोलाउनुभएको थियो । दलको नेताले बोलाएपछि त जानै पर्‍यो । दलीय प्रणालीबाट हामी चलिरहेका छौँ । आज बैठक नचलाऔँ, अलि पछाडी सारौँ भनिसकेपछि मैँले प्रमुख प्रतिपक्षी दलको मुख्य सचेतकसँग सम्वन्वय गरेँ । माघ ५ गतेलाई सार्ने मेरो प्रस्तावमा उहाँले माघ ६ गते भन्नुभयो । त्यसैमा सहमति गरेर हामीले माघ ६ गते बैठक बोलाएका छौँ ।

फेरि पनि मैँले उहाँ (नेकपा अध्यक्षद्वय)हरुलाई सभामुखको उम्मेदवार छिटो तय गर्न आग्रह गरेँ । त्यही अनुसार निर्वाचन प्रक्रिया अघि बढेपछि मैँले राजीनामा दिने हो । होइन भने त्यो सम्भव छैन । कि उहाँहरुले अहिलेको उपसभामुखलाई सभामुख बनाउनु पर्‍यो वा चार्ज लगाउनु पर्‍यो । त्यो भनेको संविधानलाई टेकेर अघि भने जसरी निकाल्ने । होइन भने मेरो बद्मासी, भ्रष्टाचार र फटाहापनको पुष्टि गर्नुपर्‍यो । त्यो भएमा म उपसभामुख छोडिदिन्छु । होईन भने राजीनामा कुनै पनि हालतमा सम्भव छैन । यो कुरा मैँले हिजो पनि भनेको थिएँ । आज पनि भन्दैछु । मेरो यो अडान सँधै रहन्छ ।

माघ ६ गतेसम्म पनि दलले सभामुखको उम्मेदवार तयार गर्न वा तपाईले भनेजस्तो गरेनन् भने तपाईं कसरी अगाडि बढ्नुहुन्छ ?

मैँले त आफ्नो प्रक्रिया अनुसार बैठकलाई अगाडि बढाइदिने हो । दलले आफ्नो काम गर्छ, मैँले मेरो काम गर्ने हो । संविधानलाई सबैले पच्छ्याउनुपर्‍यो ।

यो बीचमा सभामुखका लागि अन्य नाम आयो भने ?

त्यो स्वीकार्य हुँदैन । त्यो स्वीकार्य त्यतिबेला मात्रै हुन्छ, जतिबेला संविधान टेकेर मलाई निकालिन्छ वा अघि भनेजस्तै मेरो असक्षमताको कुराहरु पुष्टि गर्नुपर्छ । ती कुराहरु प्रमाणित नगरेसम्म अरु कसैको नाम स्वीकार्य हुँदैन । नेकपा अध्यक्षद्वयलाई नै मैँले त्यो कुरा भनिसकेको छु ।

अन्तवार्ताको भिडियो :