– अच्युत गुरागाईं, अध्यक्ष पदका उम्मेदवार, नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)

नाट्टाको अध्यक्षका लागि उम्मेदवारी दिनुभएको छ । निर्वाचनको तयारी कसरी गर्दै हुनुहुन्छ ?


ADVERTISEMENT


मेरो उम्मेदवारी भनेको नाट्टामा मेरो आवश्यकता भएर नै हो । नाट्टामा मैँले दशक बिताइसकेँ । विभिन्न चरणमा, विभिन्न अध्यक्षहरुको
कार्यकालमा मैले सहयोग गरेको कारणले नाट्टाका लागि मेरो आवश्यकता छ भन्ने सोच्छु । नाट्टाका साबै साथीहरुलाई मेरो काम गर्ने शैली पनि थाहा छ । त्यसकारण पनि म उठ्नुपरेको हो । यसअघि पटकपटक साथीहरुले अनुरोध गर्नुभयो, तपाईं अर्कोपटक भनेर । मैँले छोड्दै आएँ !


ADVERTISEMENT

# # #


दुई वर्ष अगाडि पनि मैँले श्याम पाण्डेलाई छोडेको अवस्था हो । उहाँले म सहयोग गर्छु भनेर पूर्ण रुपमा कागज पनि गर्नुभएको छ । कागज लेख्ने साथीहरुले अत्याचार गरेर मलाई कुनामा धकलेको मैँले महसुस गरेको छु ।

व्यवसायिक साथीहरु, पर्यटनमा लाग्ने साथीहरु, नाट्टाका सदस्यहरु, मन्त्रालय र पर्यटन बोर्डका साथीहरुले पनि नाट्टामा अच्यूत गुरागाईंको आवश्यकता छ भनेर भनिरहदा पनि कहिले टिम बनाउन नदिने, कहिले हामी सहयोग गर्छौं भनेपनि त्यस्तो भएन । त्यसपछि मैँले राजनीतिक रुपमा सहभागी नभएका साथीहरुलाई एक पारेर दुई वर्षको अवधिमा नाट्टामा दुईचारवटा राम्रा काम गर्न सक्ने टिम बनाएको छु ।

संयोगले नाट्टाको स्थापना भएकै वर्ष मेरो जन्म भएको थियो । नाट्टामा दुई ईट्टा भएपनि थप्नुपर्छ भनेर म नेतृत्वका लागि आएको हुँ ।  त्यसको तयारी हुँदैछ ।

नाट्टा कस्तो संगठन हो ?

नाट्टा भनेको पर्यटन क्षेत्रका विशेषगरी ट्राभल र टुर सञ्चालन गर्ने साथीहरुको छाता संगठन हो । नेपाल सरकारले पर्यटन मन्त्रालय नै गठन नगरिसकेको अवस्थामा सन् १९६६ सालमा नाट्टा खुलिसकेको थियो ।

सम्पूर्ण पर्यटन व्यवसायीहरुले नाट्टाको नेतृत्वमाथि ख्याल गरेका हुन्छन् । पर्यटन मन्त्रालय, पर्यटन विभाग वा पर्यटन बोर्ड, सबैले यसमाथि नियालिरहेका हुन्छन् । त्यसका लागि नाट्टामा गतिलो नेतृत्व जानुपर्छ भन्ने मलाई लाग्छ ।

तपाईंको समूहका एजेण्डाहरु के के छन्  ? नेतृत्वमा पुगेपछि के गर्नुहुन्छ ?

नाट्टाको अध्यक्ष भइसकेपछि सबैभन्दा पहिलो एजेण्डा भनेको नाट्टाको साख गिर्न नदिने हो । हाम्रा अग्रज अध्यक्षहरुले यसलाई इज्जतिलो संगठन बनाउनुभएको छ । यसको शाख गिराउनु हुँदैन भन्ने मेरो विश्वास छ । नाट्टा भित्रका सानातिना झमेलाहरुलाई सुल्झाउने, यसको सचिवालयलाई चुस्त दुरुस्त बनाउने, सदस्य एजेन्सीहरुसंग अन्तक्रिया गरिराख्ने र उहाँहरुको समस्याको समाधानका लागि पहल गरिराख्ने नै हाम्रो लक्ष्य र एजेण्डा हुनेछ ।

नाटामा तीन किसिमका सदस्यहरु छन् । एउटा टिकेटिङ गर्ने साथीहरु, उहाँहरुले टिकेटिङका विभिन्न समस्याहरु समाधान गर्दै यस सम्बन्धि ट्रेनिङ गराउने हुन्छ । दोस्रो भनेको टुर अपरेटरहरु । उहाँहरुले टुरसम्बन्धी उत्पन्न समस्याको समाधानका उपायको खोजी गर्ने हो । तेस्रोमा ‘आउट बाउन्ड’का साथीहरुको पनि समस्या छन् । त्यसलाई पर्यटन मन्त्रालय र राष्ट्र बैँकसँग मिलेर सहजीकरण गर्नुपर्छ ।

अहिले पर्यटकीय नगरीहरुमा बसपार्कको समस्या रहेको छ । जस्तै भैरहवा, लुम्बिनी, चितवन, पोखरा लगायतका ठाउँहरुमा बसपार्कका समस्याहरु छन् । मध्यम खालका टुरिस्ट बसबाट गन्तव्यसम्म पुर्याउनु पर्ने र त्यहाँ उत्रिन, ओराल्न बसपार्कको समस्या छ । त्यसका लागि महत्वपूर्ण काम गर्नुपर्ने जरुरी छ । म अध्यक्ष भएर आएँ भने सबैभन्दा पहिले बसपार्क ब्यवस्थित गर्ने काम गर्छु ।

अर्को भनेको पर्यटन मन्त्रालय र पर्यटन बोर्डसँग मिलेर भारतीय र चिनियाँ बजारमा प्रचारको काम गर्नुपर्नेछ । नेपालमै विभिन्न किसिमका अन्तर्राष्ट्रिय सेमिनार, अन्तक्रिया गर्न सकियो भने सम्पूर्ण नेपाल र टुर अपरेटर, होटेल, रेस्टुरेन्टदेखि सबै पक्षका मानिसले फाइदा पाउँछन् ।

अबका दिनमा नेपाललाई इभेन्ट डेस्टिनेसनका रुपमा पनि विकास गर्नुपर्छ । वातावरणीय हिसाबले पनि नेपालमा वर्षभरि नै आयोजना गर्नसकिने किसिमको छ । बुद्ध जन्मेको देशमा ‘बुद्धिष्ट इन्टरनेसनल ट्राभल मार्ट’ गर्नुपर्छ भन्ने मेरो योजनालाई नाट्टाले स्वीकार गरेर हामीले गत वर्ष पहिलो पटक ‘बुद्धिष्ट इन्टरनेसनल ट्राभल मार्ट’ गरिरहेको छौँ । त्यसलाई निरन्तरता दिने सोच छ ।

आफ्नो टिमलाई कत्तिको बलियो देख्नुभएको छ ? को को हुनुहुन्छ टिममा ?

मेरो टिममा ३५ वर्षसम्म ट्राभल एण्ड टुरमा काम गरिसक्नुभएका अनुभवी बरिष्ठ उपाध्यक्षका रुपमा उम्मेदवार हुनुहुन्छ । यस्तै उपाध्यक्षको उम्मेदवार दुई विषयमा पीएचडी गरेको,  ट्राभल एजेन्सी चलाइरहनु भएको छ । महासचिवका उम्मेदवार विशेष गरी कोरियन भाषामा दख्खल र उहाँले ठूलो संख्यामा ‘टुर ग्रुप’ ल्याउनु भएको छ । अन्य साथीहरु पनि एकदमै दक्ष्य हुनुहुन्छ । म पूर्ण रुपमा विश्वस्त छु कि मेरो टिमले जित्नेछ ।

तपाईंको व्यक्तिगत परिचय पनि दिनुहोस् न । पर्यटनको क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?

म नुवाकोटको दुर्गम क्षेत्रमा एउटा साधारण किसान परिवारमा जन्मिएको व्यक्ति हुँ । पढाईका लागि काठमाडौँ आएर ट्राभल एजेन्सीमा काम गर्न थालेँ ।

काम गर्दै अंग्रेजीमा मास्टर्स गरिसकेपछि सन् १९९६ मा आफ्नै ट्राभल एजेन्सी खोलेँ । त्यतीबेला प्रोफेसर बन्ने कि टुर अपरेटर बन्ने भनेर सोच्दा मलाई टुर अपरेटर बन्न मन लाग्यो ।

ट्राभलको कामकै क्रममा मैँले लगभग ७० भन्दा बढी देशहरु घुमिसकेको पनि छु । मैँले कलेजमा पढाउँथे पनि । चिनियाँ भाषा पनि राम्रै आउँछ । लाइन्स क्लबको विभिन्न पदहरुमा बसेर काम पनि गरिसकेको छु । समाजसेवाको क्षेत्रमा विशेषगरी नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काभ्रे लगायतका जिल्लामा स्कुहरुको पुर्ननिर्माणमा मैँले लाइन्स क्लबको माध्मबाट गरेको छु ।

नाट्टा पनि व्यवसायीहरुको सामाजिक संगठन हो । त्यसमा गएर आफ्नो हित होइन, सदस्यहरुको भलोका लागि काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।

अन्त्यमा, भनिदिनुहोस् कि अच्यूत गरागाईंको टिमलाई किन जिताउने ?

अच्यूत गुरागाईंको टिम व्यवसायिक टिम हो । एकदमै अनुभवी टिम हो । मेरो नेतृत्वमा नाट्टामा गर्नुपर्ने सम्पूर्ण कामहरु हामीलाई थाहा भएको हुँदा नाट्टाका साथीहरुले पूर्ण रुपमा विश्वास गर्नसक्नुहुन्छ कि यो टिम अनुभवी, गैर–राजनीतिक र व्यवसायिक छ ।

नाट्टाका सम्पूर्ण मतदाता साथीहरुलाई म के भन्न चाहन्छु भने म र मेरो टिम नेतृत्वमा गयो भने अग्रजको बाटोलाई पच्छ्याउँदै नाट्टालाई नयाँ उचाईंमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।