काठमाडौँ– लगातारको वर्षाले नेपालको तराईमा आएको बाढीले दर्जनौको मृत्यु हुनुका साथै हजारौ व्यक्ति घरबारबिहिन भएका छन्।


ADVERTISEMENT


यसै सन्दर्भमा बाढी पहिरो पीडितलाई राहत प्रदान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनएं) ले आपतकालीन राहत कोषको स्थापना गर्दै सहयोग गर्ने भएको छ। कोषमा अध्यक्ष शेष घले दम्पत्तिले एक करोड रुपैयाँ सहयोगको प्रतिवद्धतासमेत जनाएका छन् ।


ADVERTISEMENT

# # #


एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको आइतबार बसेको आकस्मिक बैठकले राहतका लागि कोष स्थापना गरी तत्कालै राहत वितरणमा खटिने निर्णय गरेको छ। दुःखको घडीमा हामी देशबासीको साथमा रहेको भन्दै अध्यक्ष घलेले हामीले एक करोड बढी रकम संकलन गरिसकेकाले आवश्यक राहत सामाग्री खरिद गरी हामी तत्कालै वितरणमा खटिने निर्णय गरेको बताए।

संघका अध्यक्ष घले र उनकी पत्नी जमुना गुरुङको एमआईटी फाउण्डेसनले बाढी पीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्।

यस्तै कार्यक्रममा एनआरएनका संरक्षक जीवा लामिछाने, उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्तले एकरएक लाख रुपैयाँ सहयोग गरेका छन्। संघका अन्य पदाधिकारी र सदस्यहरुले पनि सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

बाढीपहिरो पीडितलाई के कसरी सहयोग गर्न सकिन्छ भन्ने बारे गृहमन्त्रालयसँग परामर्श गरेर सोही आधारमा राहत सामाग्री उपलब्ध गराउने संघले निर्णय गरेको छ ।

राहत वितरणको समन्वय गर्न घले तत्कालै अष्ट्रेलियाबाट नेपाल आउने भएका छन्।

संघले विश्वभरि छरिएर रहेका नेपालीहरुलाई आफ्नो गच्छेअनुसार रकम सहयोग गर्न आह्वानसमेत गरेको छ।

मुलुकलाई विपत परेका बेला गैरआवासीय नेपाली संघले सक्रियताका साथ मानवीय सहयोग गर्ने गरेको छ। यसअघि २०७२ साल वैशाखमा आएको महाभूकम्पका कारण सिर्जित मानवीय संकटका बेला पनि गैरआवासीय नेपाली संघले सहयोग गरेको थियो।