काठमाडौँ – नेपाल टेलिकमले २३०० मेगाहर्ज (ब्यान्ड ४०) मा समेत फोरजी सेवा सञ्चालन गर्ने योजना बनाएको छ । यसको उपलब्धतासँगै ग्राहकले थप सहजता, तीव्र गति र गुणस्तरमा फोरजी सेवा प्राप्त गर्न सक्ने टेलिकमले जनाएको छ ।


ADVERTISEMENT


टेलिकमले हाल १८०० मेगाहर्ज (ब्यान्ड ३) र ८०० मेगाहर्ज (ब्यान्ड २०) ब्यान्डको रेडियो तरंगमार्फत फोर जी डाटा सेवा उपलब्ध गराइरहेको छ । ग्रामीण क्षेत्रका विकट स्थानदेखि बढी जनघनत्व भएका सहरी क्षेत्रका घरभित्र फोर जी सेवामार्फत डाटा तथा गुणस्तरीय भ्वाइस सेवा उपलब्ध गराउनका लागि ८०० तथा १८०० मेगाहर्ज फ्रिक्वेन्सी दुवै प्रयोगमा ल्याएको छ ।


ADVERTISEMENT

# # #


हाल प्रयोगमा रहेका अधिकांश मोबाइल सेटहरु १८०० मेगाहर्जमा चलाउन सकिने भए तापनि ८०० मेगाहर्ज प्रयोग गर्न सकिने मोबाइल सेट भने सीमित मात्र उपलब्ध भएको पाइन्छ ।

मुलुकका विकट, दुर्गम र अधिकांश ग्रामीण भेगमा ८०० मेगाहर्जमा फोरजी सेवा उपलब्ध भइरहेकाले फोरजी सेवा प्रयोगमा ल्याउन यही व्याण्ड चल्ने मोबाइल सेट प्रयोग गर्नुपर्दछ ।

फोर जीको अधिकतम उपादेयताको लागि दुवै ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग गर्नु पनि आवश्यक छ । उपयुक्त मोबाइल सेटको अभावमा फोर जी सेवाबाट अधिकतम फाइदा लिन नसकिने हुन्छ ।

कम्पनीले हाल देशका विभिन्न शहर तथा ग्रामीण क्षेत्रमा समेत फोर जी सेवा विस्तार गरिरहेको छ । त्यसैले फोर जी डाटा सेवामार्फत अधिकतम फाइदा लिनका लागि १८०० तथा ८०० मेगाहर्ज दुवै ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग गर्नु आवश्यक हुन्छ ।

नयाँ मोवाइल सेट किन्दा यसको बक्समा उपलब्ध विस्तृत प्राविधिक विवरण हेरेर कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो भनी पत्ता लगाउन टेलिकमको आगंह छ। त्यसैगरी मोबाइल चलाउँदा सेटको सेटिङमा नेटवर्कलाई जहिले पनि फोरजी नेटवर्क प्राथमिकतामा राख्नुपर्छ । यसो भएमा आवश्यकता अनुसार फोरजी वा अन्य प्रविधि प्रयोग गर्न सकिन्छ ।

हाल कम्पनीले देशका ६४ जिल्लामा फोर जी सेवा उपलब्ध गराइसकेको छ । यस सेवाका प्रयोगकर्ता मुलुकभर गरी २८ लाख नाघेका छन् ।