धनुषा, फागुन १९। धनुषाको पटेर्वा–१ बस्ने राजाराम यादवका सात वर्षीय छोरा रुपेश यादवको हत्या भएको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय, धनुषाले दिएको जानकारीअनुसार गत सोमबारदेखि बेपत्ता बालकको शव बुधबार साँझ घर नजिकैको गहुँखेतमा हत्या गरेर फालिएको अवस्थामा फेला परेको छ । घाँटीमा लगाएको मालाले नै बालकको घाँटी थिचेर हत्या गरिएको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ ।


ADVERTISEMENT

# # #


बालकका काका रामनाथ यादवका अनुसार गत सोमबार घर नजिकै छिमेकको घरमा भोज खान भनेर गएको बेलादेखि भतिजा रुपेश बेपत्ता भएका थिए । भोज खाएर रुपेश आफू पढ्ने जनज्योति बोर्डिङ स्कुलमा पढ्न गएको आफूहरुलाई लागे पनि अबेर साँझसम्म घर नआउँदा खोजतलास सुरु गरिएको थियो ।

सोमबार साँझदेखि खोजतलास गर्दा बालक नभेटिएपछि मङ्गलबार घरपरिवारले इप्रका सवैलामा निवेदन दिएका थिए । खोजतलासका क्रममा बुधबार साँझ घर नजिकैको गहुँ खेतमा बालकको हत्या भएको अवस्थामा शव फेला परेको घरपरिवारले जनाएको छ ।

भोज खाएर हात धुने बेला नै भतिज रुपेशलाई अपहरण गरी हत्या गरेको हुन सक्ने काका रामनाथको भनाइ छ । उनका अनुसार करिब एक महिनाअघि खेल्ने क्रममा भतिज रुपेश र छिमेक सिरिया मुखियाका नातिसँग बच्चा बच्चामा झगडा भएको थियो । त्यस घटनाको एक महिनापश्चात् बालकको हत्या भएकाले सिरिया मुखियाकै परिवारले अपहरण गरेको हुन सक्ने रुपेशका परिवारको आशङ्का छ ।

बुधबार बिहान सिरिया मुखिया र उनकी श्रीमती इमिरादेवी मुखिया घरबाट भाग्न खोजेपछि स्थानीयवासीले पक्राउ गरी इलाका प्रहरी कार्यालयलाई जिम्मा लगाएको केही समयपश्चात् बुधबार साँझ नै रुपेशको हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले सिरिया मुखियासँगै स्थानीय महेश यादवलाई समेत नियन्त्रणमा लिएर तीनैजनामाथि अनुसन्धान गरिरहेको सवैला इलाका प्रहरीका सई टेकबहादुर ढकालले जानकारी दिए।

बालकको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिप्रका, धनुषाले जनाएको छ ।