काठमाडौँ– वाग्मतीलगायत काठमाडौँ उपत्यकाका नदीनाला संरक्षण गर्ने उद्देश्यले आउँदो भदौ ३ गते कुपण्डोलबाट सुन्दरीघाटसम्म १७ औँ महाजलयात्रा गरिने भएको छ ।


ADVERTISEMENT


नेपाल नदी संरक्षण संस्था र फ्रेण्ड्स क्लब कुपण्डोलको आयोजना एवम् अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, साइकल सिटी नेटवर्क नेपाल, नेपाल एसोसियसन अफ ¥याफ्टिङ एजेन्सिज र हिमालयन रिभर गाइड एसोसियसनको सहयोगमा कार्यक्रम गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष मेघ आलेले बताए ।
‘वाग्मती नदी महोत्सव २०७४–एक्काइसौँ शताब्दीको महोत्सव महाजलयात्राको १७ औँ संस्करण’ मा वाग्मती सफाइ महाअभियानको २२३ औँ हप्ता पारेर २२३ दियो बाली नदीमा अर्पण गरिने छ ।


ADVERTISEMENT

# # #


महोत्सवमा जलयात्राका साथै विद्यालयव्यापी चित्रकला प्रतियोगिता, वाग्मती किनार सरसफाइ, सम्पदा साइकल यात्रा, खाना तथा शैक्षिक प्रदर्शनी, रिक्सा र घोड सवारी, चित्र र तस्वीर प्रदर्शनी, प्रत्यक्ष सांगीतिकलगायत मनोरञ्जनात्मक कार्यक्रम गरिनेछ । कार्यक्रममा हिन्दू, बौद्ध, मुसलमान, इसाईलगायत धर्मगुरुलाई आमन्त्रण गरी नदी सभ्यताका विषयमा प्रवचन पनि गराइने फ्रेण्ड्स क्लबका अध्यक्ष राजीव पौडेलले बताए ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु गरिएको वाग्मती सफाइ महाअभियानका क्रममा हालसम्म वाग्मती नदीमा फोहर फाल्ने एक हजार ३८१ जनाबाट काठमाडौँ महानगरपालिकाले रु १७ लाख ९९ हजार र ललितपुर महानगरपालिकाले रु १२ लाख ५० हजार जरिवानास्वरुप उठाएको सफाइ महाअभियानका नारायण श्रेष्ठले जानकारी दिए।