-प्रकाश कपुरी, उपाध्यक्ष,  नाडा अटोमोवाईल्स एसोसीएसन
अफ नेपाल ( नाडा )


ADVERTISEMENT


नाडाको नयाँ नेतृत्वका लागि तपाईले अध्यक्षमा उठ्ने कुरा गर्नुभएको थियो । यसबाट पछि हट्नुभएको हो ?


ADVERTISEMENT

# # #


मैँले आफ्ना अग्रजहरुसंग सल्लाह सुझाव लिएँ । संस्थाप्रति मेरो जुन धारणा र ‘भीजन’  ‘मीसन’ थियो, त्यसलाई मेरो प्रतिपक्षीले सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाएपछि अहिलेलाई पछाडी हटेको छु । तर, आउने दिनमा म पोख्त हुँदै जान्छु भन्ने हिसाबकिताबले अहिलेलाई त्यसतर्फ लाग्ने योजना बनाएको छु । यही कुरालाई ध्यानमा राख्दै मैँले मनोनयन पत्र फिर्ता लिएको हुँ ।

सोच विचार गरेरै नेतृत्वका लागि उम्मेदवारी दिने बताइरहँदा के योजना बनाउनुभएको थियो र अहिले केमा विश्वस्त भएर छोड्नुभएको हो ?

मेरो प्रतिस्पर्धीका रुपमा कुष्ण दुलाल र मैँले दुई कार्यकाल सँगै काम गरेका हौँ । उहाँको आजको जुन सोच छ, त्यसमा हिजोका दिनमा हामीले पनि आत्मसाथ गर्दै हिँडिरहेको कुरा हो ।

टिममा हिँडिरहँदा प्रकाश कपुरीले केही गर्नै नसक्ने खालको भ्रम देखिन आयो । त्यसलाई मैले निषेध देखाएको थिएँ; म कोहीभन्दा कम छैन भनेर ।

यही कुरा उहाँले बुझिसकेपछि संगै बसेर काम गर्नुपर्छ भन्ने विचार गरेर संस्थालाई एकताबद्ध बनाउँदै अघि बढाउन मैँले मनोनयनपत्र फिर्ता लिएको हो ।

भनेपछि नयाँ आउने नेतृत्वले तपाईका एजेण्डाहरुलाई समेत आत्मसाथ गर्ने बिश्वास पाउनु भएको हो ? 

कुनैपनि संस्थामा पक्ष र प्रतिपक्ष हुनु पर्दोरहेछ । मेरो सोच र ‘भीजन’लाई नै लिने भन्ने सोचले नै उहाँले संगै जाउँ भन्नुभएको छ ।

संगसंगै जाने आफ्नो ठाउँमा छ । तर, ‘टिमवर्क’मा रहेर काम गर्छु भनिसकेपछि उहाँले गरेको कामलाई मैँले पनि नियाल्नै पर्छ ! 

अटोमोबाइल क्षेत्रको छाता संगठनलाई संगै मिलेर अगाडि बढाउनुपर्छ भनेर जसरी हामीले संकल्प लिएका थियौँ, त्यही अनुसार काम हुनुपर्छ ।

अबको दुई वर्षमा नयाँ नेतृत्वले कुन कुन एजेण्डाका साथ काम गर्नुपर्छ ? के सल्लाह दिनुहुन्छ ? 

मैँले पटक-पटक भन्दै आएको छु, हामी ट्याक्स भ्याटको क्षेत्र मात्रै नभई ठूलो श्रम, रोजगार संस्था पनि हौँ । त्यो कुरालाई पनि मनन गरिनुपर्यो ।

कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी (सीएसआर) अन्तर्गत रहेर हामीले दैनिक रुपमा भइरहने सडक दुर्घटना न्यूनिकरणमा पनि ध्यान दिनुपर्छ । ट्राफिक नियमको पालना गराउने भन्दा पनि सातै प्रदेशमा गएर प्रशिक्षण दिने संस्थाको विकास गर्ने, अटोमाबाइल्सलाई ‘स्मार्ट’ बनाउने कुराहरुलाई पनि हामीले ध्यान दिनुपर्छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

म नेतृत्वका लागि उठ्छु भन्दा अटोमोबाइल्सका साथीहरुले जुन किसिमको साथ र सहयोग गर्नुभयो, त्यही उत्साह र जाँगरका साथ म अगाडि बढिरहेको थिएँ । तर, त्यतीमात्रैले पनि पुग्दैन रहेछ । अटोमाबाइल्स क्षेत्रमा रहेका सबै साथीहरुलाई समेट्नुपर्छ । त्यो विश्वास मसंग थियो । केही गर्छु भन्ने थियो । मैँले लिएको त्यो निर्णयमा तपाईहरुले देखाउनु भएको सौहार्दता प्रति आभारी छु । आउने दिनमा यो संस्थाबाट केही कमी कमजोरी हुनेछैन भन्ने म विश्वास दिलाउन चाहन्छु । मेरो प्रतिपक्षी साथीले पनि यो कुरालाई समेट्नु भएको छ । नाडाको भावी नेतृत्वले पूर्ण सफलताका साथ काम गर्नेछ भन्ने मलाई विश्वास छ । मैँले लिएको निर्णयलाई सबैले आत्मसाथ गरिदिनुहुनेछ भन्ने विश्वासका साथ नेतृत्वलाई सँधै खबरदारी गरिरहने वाचा गर्दछु ।