काठमाडौं । मूलुकमा दुर्घटनाका समाचारहरु आईरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले समेत यसमा चिन्तित बन्दै भोक निन्द्रा नै नलागेको बताएका छन् । प्रधानमन्त्री ओलीले सरोकारवाला सबैलाई बोलाएर दुर्घटना हुँदै नहुने उपाय निकाल्न निर्देशन समेत दिएका छन् । बढ्दो सडक दुर्घटना रोक्न सरकार नै गम्भिर बनिरहेका बेला महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखको जिम्मेवारी सम्हालिरहेका एसएसपी भीम ढकालले सचेतना फैलाउँदै दुर्घटना कम गर्न तीन महिने ट्राफिक उज्यालो अभियानको सुत्र ल्याएका छन् ।


ADVERTISEMENT


महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीन महिने ट्राफिक उज्यालो अभियान सुरु गरेको हो । रामशाहपथ स्थित महाशाखामा एक कार्यक्रम आयोजना गर्दै दुर्घटना न्यूनिकरणका लागि सबै पक्षलाई चेतनशील बनाउने उदेश्यका साथ तीन महिना सम्म उज्यालो अभियान सञ्चालन गर्ने ट्राफिक प्रमुख एसएसपी ढकालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


सडक संस्कृतिको विकास भए मात्र ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने र दुर्घटना हुन नदिने अवस्था बनाउन सकिने भन्दै यसका लागि साथ दिन सम्बन्धित सबैलाई एसएसपी ढकालले आग्रह गरेका छन् ।

पुष, माघ र फागुन महिना भर सञ्चालन हुने अभियानले कुल १ लाखलाई सचेतना फैलाउने लक्ष्य राखिएको छ । अभियानको लक्षित समूह सडक प्रयोगकर्ता, पैदल यात्री, चालक र सहचालक र स्कुल र कलेजका विद्यार्थीहरू रहेका छन् ।

महाशाखा तथा मातहतका ४० वटा ट्राफिक कार्यालयहरूले लक्षित समूह पहिचान गरी अभियान सञ्चालन गर्नेछन् । यसका लागि महाशाखा तथा मातहतवाट सिनियर र जुनियर प्रहरी अधिकृत र प्रहरी जवानहरू गरी जम्मा १३० जना ट्राफिक प्रहरी खटाईने जनाईएको छ ।

अभियानको उद्घाटन समारोहमा महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ( डीआईजी ) शैलेष थापा क्षेत्री, महानगरिय प्रहरी परिसर काठमाडौँ र ललितपुरका प्रमुखहरू, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौला, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका प्रदेश नं. ३ संयोजक जगन्नाथ गौतम, नेपाल मिटर ट्याक्सी यातायात व्यवसायी संघका अध्यक्ष अर्जुन गौतम, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्म भण्डारी, मजदुर संगठनर संगका प्रतिनिधिहरू, प्याब्सन, एन प्याब्सन, हिसानका प्रतिनिधिहरू सहभागि थिए ।

‘ट्राफिक सचेतना अवधारणालाई आमनागरीकसम्म पुर्या्एर ट्राफिक नियम पालना गर्नुपर्छ’ भन्ने भावना अभिवृद्धि गर्न ‘समुदाय प्रहरी साझेदारी’ अन्तर्गत सडक प्रयोगकर्ता, पैदल यात्री, चालक र सहचालक, स्कुल र कलेजका विद्यार्थी लगायतको सहभागितामा ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखावाट ३ महिने विशेष ट्राफिक उज्यालो अभियान सञ्चालन गरिएको एसएसपी ढकालले जानकारी दिएका छन् ।

ट्राफिक नियमको व्यवहारिक प्रयोग, लेन अनुशासन, मर्यादित सवारी चालक, कानूनलाई आत्मसात गर्ने प्रवृतिलाई प्राथमिकतामा राखि सडकमा हुने लापरवाहीलाई न्युनिकरण गर्नु अहिलेको आवश्यकता रहेको जनाउँदै यस्का लागि सडक सुरक्षा सम्बन्धी जनचेतना फैलाउन अब ट्राफिक प्रहरी केन्द्रिकृत बन्ने उनको भनाई छ ।

अभियानमा समुदाय प्रहरी साझेदारीसंग समन्वय गरि पर्चा पम्प्लेट स्टिकर वितरण र श्रव्य दृश्य प्रदर्शनी मार्फत ट्राफिक नियमवारे सचेतना दिने, सरकारी, सार्वजनिक भाडा र नीजि क्षेत्रका चालकहरूलाइ पायक पर्ने ठाँउमा सचेतना कक्षा दिने, स्कुल र कलेजका विद्यार्थीहरूलाई कलेज र विद्यालयमै गएर शिक्षा दिने कार्यबिधी अनुसार काम अघि बढाईने महाशाखाले जनाएको छ ।