ललितपुर – गोदावरी नगरपालिका वडा नं ३ साविकको गोदावरीमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम अघि बढेको छ । शहरी विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन निर्माण विभागले उक्त सम्मेलन केन्द्र निर्माणको काम अघि बढाएको हो ।


ADVERTISEMENT


सो सम्मेलन केन्द्र तीनहजार मानिस अट्ने क्षमताको निर्माण हुँदैगरेकोभवन निर्माण विभागका इञ्जिनीयर प्रतिक भुुुसालले बताए । उनले भने, ‘कात्तिक २० गते विभाग र केसी–समानान्तर जेभीबीच सम्झौता भई कात्तिक २१ गतेदेखिजग खन्न शुरु गरिएको यस सम्मेलन केन्द्र पाँच महिनामा निर्माण सम्पन्न हुनुपर्ने सम्झौता भएको छ । यो सम्मेलन केन्द्र दुई तलाको निर्माण हुने छ ।’ सम्मेलन केन्द्रको ढाँचा भने सिनेमा हल वा नेपाल प्रज्ञा–प्रतिष्ठान तवरको रहने भुसालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


केसी–समानान्तर जेभीले संयुक्त रुपमा सो सम्मेलन केन्द्र निर्माणको जिम्मेवारी लिएका छन् । काम अघि बढाइएको एक महिना अवधिभरमा १५ प्रतिशत सम्पन्न भइसकेको जेभीका साइट इञ्जिनीयर दामोदर भण्डारीले बताए । उनले भने, ‘सम्मेलन केन्द्र वरपर रहेका २५ वटा रुख र अन्य बोटविरुवा कटानको काम चाँडै सकियो भने पाँच महिनामा निर्माण सम्पन्न गर्न सक्ने छौँ । यदि रुखबिरुवा कटानको काम चाँडै भएन भने कति समय लाग्छ, त्यो पछि नै थाहा हुन्छ ।’ सो जेभीले सरकारसँग रु ६५ करोड ८१ लाख ६५ हजार ४५९ मा भ्याटसहित निर्माण सम्पन्न गर्न ठेक्का लिएको भण्डारीले जानकारी दिए ।

यस वर्षको अन्त्य अर्थात् आगामी चैत २४ गतेभित्र सो सम्मेलन केन्द्र निर्माण समाप्त गरिसक्नुपर्ने भएको छ । सम्मेलन केन्द्र निर्माणका लागि साविकको गोदावरी क्षेत्र पर्यटकीयलगायत पर्यावरणीय हिसाबले एकदमै उपयुक्त रहेकाले यही स्थान रोजी निर्माणको काम अघि बढाइएको साइट इन्चार्ज पवन मैनालीले बताए । उनले भने, ‘सो केन्द्रले ५५ हजार स्क्वायर फिट अर्थात् २५ रोपनी क्षेत्रफल ओगट्ने छ ।’ सो भवन निर्माणका लागि गोदावरीको पानी प्रयोग गर्न नपाइएकाले टयाङ्करमा पानी ल्याई काम अघि बढाइएको मैनालीले बताए ।

गोदावरीमा सो सम्मेलन केन्द्र निर्माणपछि गोदावरीको महत्व थप बढ्ने वडा नं ३ का वडाध्यक्ष बालमुकुन्द घिमिरेले विश्वास व्यक्त गरे । उनले भने, ‘यस केन्द्रमा सानादेखि ठूलासम्मका सबै काम सजिलै गर्न पाइने भएको छ ।’ सो सम्मेलन केन्द्रले गोदावरीको मात्र नभई ललितपुरको थप शान बढाउने घिमिरेले बताए । सम्मेलन केन्द्र निर्माणमा १०० भन्दा बढी ज्यामी तथा डण्डी हाल्ने काट्ने र उठाउने लगभग एक सय र ट्रस बनाउने र हाल्ने २५ गरी लगभग २२५ कामदार खटिएका छन् । विसं २०७७ अर्थात् नववर्षका दिनमा सो सम्मेलन केन्द्र उद्घाटन गर्ने योजना रहेको विभागले जनाएको छ ।

गोदावरी कुण्ड सिँगारिँदै

प्रत्येक १२ वर्षमा सिंहास्त मेला लाग्ने गोदावरी कुण्ड, सो नजिकैको धर्मशाला र बाडेगाँउ हुँदै गोदावरीम मार्ग निर्माणको काम अघि बढेको छ । गोदावरी कुण्ड सफा तथा फराकिलो पार्न, कुण्ड वरपर मर्मत तथा सुधार गर्न, पर्खाल लगाउन, सिँढी बनाउन र रेलिङ हाल्न गोदावरी नगरपालिकाले रु ५० लाख सहयोग गरेको छ ।

गत विसं २०७२ को १२ वर्षे मेलामा उठेको रु ४७ लाख चन्दाले कुण्ड निर्माणको काममा निकै सहयोग पुगेको गोदावरी कुण्ड संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष मधुसूदन पौडेलले जानकारी दिए । उनले भने, ‘कुण्ड नजीकै निर्माण हुँदै गरेको धर्मशाला निर्माणका लागि नगरपालिकाले रु ६० लाख, प्रदेश सरकारले रु एक करोड र वडाले रु ४० लाख सहयोग गरी धमाधम काम अघि बढी नै रहेको छ ।’

गोदावरीको मुख्य चोक वा बजार क्षेत्रमा सडक बत्ती हाल्ने, सार्वजनिक शौचालय निर्माण गर्ने र सिसी क्यामेरा जडानको काम भइरहेको छ ।रासस