काठमाडौं – तेह्रौं दक्षिण एसियाली खेलकुद(साग) आजबाट सकिदैछ । पुरुष फुटबलको फाइनलसँगै त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा समापन समारोहको आयोजना हुनेछ ।


ADVERTISEMENT


काठमाडौं–पोखरा–जनकपुरधाममा मङ्सिर १० गतेदेखि सुरु भई १० दिनसम्म चलेको सागको अन्तिम दिन १५ स्वर्णका लागि स्पर्धा हुनेछ । समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिप्रिजेन्समार्फत् सम्बोधन गरेका छन्। समापन समारोह अघि तीन बजेदेखि फुटबलमा स्वर्ण पदकका लागि नेपालले भुटानको सामना गर्दैछ ।


ADVERTISEMENT

# # #


त्यसपछि करिब डेढ घण्टा समापन समारोह हुनेछ । जसमा नेपाल आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी लगायतका अन्य कलाकारहरुले प्रस्तुती समेत दिनेछन् ।

आज कुन कुन खेल हुने ?

फुटबलको स्वर्ण पदकको लागि स्पर्धा हुनुअघि आज बास्केटबल, जुडोको फाइनल स्पर्धा हुनेछन् । बास्केटबलमा महिलातर्फ काश्य पदकको लागि भुटान र माल्दिभ्स तथा पुरुषतर्फ नेपाल र बङ्गलादेशबीच स्पर्धा हुनेछ । बक्सिङ्गमा आज ८ स्वर्णका लागि स्पर्धा हुँदैछ । त्यसैगरी, जुडोको एक स्वर्णका लागि टिम इभेन्ट हुँदैछ । स्क्वशमा आज महिला र पुरुषतर्फ स्वर्ण पदकका लागि भारत र पाकिस्तानबीच स्पर्धा हुनेछ । पुरुषतर्फ काश्य पदकका लागि नेपाल र बङ्गलादेशले स्पर्धा गर्नेछ ।

तेह्रौं दक्षिण एसियाली खेलकुद आयोजक समितिले यसअघि क्रिकेट पुरुष र महिला, फुटबल पुरुष र महिलाको फाइनलपनि मङ्सिर २४ मै गर्ने प्रारम्भिक तालिका सार्वजनिक गरेको थियो । तर पुरुष र महिला क्रिकेटसँगै महिला फुटबलको फाइनल स्पर्धा भने भइसकेको छ । जुडोतर्फ टिम इभेन्ट र बक्सिङ्गतर्फको फाइनल स्पर्धा हुनेछन् ।

साग समापन समारोहको पूर्वसन्ध्यामा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले पत्रकार सम्मेलन गरी समापन भब्य र सभ्य हुने बताइसकेका थिए । सागको तीन दशक बढीको इतिहासमा सबैभन्दा बढी स्वर्ण जितेर नेपालले नयाँ कीर्तिमान बनाएको तेह्रौं साग नै हो । फाइनलका केही स्पर्धा हुन बाँकी रहँदा राखेपले साग सुरु हुनु अघि दाबी गरे बमोजिम नै नेपालले ४९ स्वर्ण जितेर दोस्रो स्थानमा छन् ।

पदक तालिकामा भारतले यसअघिका संस्करण झैं तेह्रौं सागमा आफ्नो वर्चश्वता यथावत् राखेको छ । भारत हालसम्म १५९ स्वर्ण, ९१ रजत र ४४ काश्य जितेर २९४ पदकसहित शिर्ष स्थानमा छन् । दोस्रो स्थानको नेपालले ४९ स्वर्ण, ५४ रजत र ९२ काश्यसहित १९५ पदक जितेको छ । तेस्रो स्थानमा भने श्रीलङ्का छन् । श्रीलङ्काले ३९ स्वर्ण, ७९ रजत र ११८ काश्य गरी कुल २३६ पदक जितेको छ ।

चौथो स्थानमा रहेको पाकिस्तानको कुल पदक १२४ छ । उसले ३२ स्वर्ण, ३७ रजत र ५५ काश्य जितेको छ । पाँचौं स्थानको बङ्गलादेशले १९ स्वर्ण, ३२ रजत र ८१ काश्यसहित कुल १३२ पदक जितेको छ ।

माल्दिभ्सले हालसम्म एक स्वर्ण र तीन काश्य गरी कुल चार पदकसहित छैठौं र भुटानले छ रजत र १३ काश्यसहित १९ पदक ल्याएर पुछारमा छन् ।