चितवन– घोषित रुपमा विद्युत्भार कटौती नभए पनि प्राविधिक कारण समय समयमा विद्युत् आपूर्तिमा समस्या हुने गरेको छ । लामो क्षेत्रमा एउटै फिडरबाट तानिएका तार र पुराना ट्रान्सफर्मरमा देखिने समस्याका कारण पटक पटक विद्युत् अवरुद्ध हुँदा अत्यावश्यक क्षेत्र प्रभावित हुँदै आएका छन् ।


ADVERTISEMENT


भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै पर्यटकीय क्षेत्र सौराहामा विद्युत् अवरुद्ध नहुने गरी तयारी थालिएको छ । नेपाल विद्युत् प्राधिकरणको टाँडी वितरण केन्द्रले नयाँ फिडर जडान गरी सौराहा क्षेत्रमा विद्युत् आपूर्ति गराउन लागेको छ । केन्द्रका प्रमुख चुतुनकुमार श्रीवास्तवका अनुसार पर्सा सबस्टेशनबाट खैरहनी, कुमरोज, बुढ्यौली हुँदै हाल सौराहा विद्युत् पुर्याइएको छ ।


ADVERTISEMENT

# # #


लामो क्षेत्र भएकाले तार, पोल, ट्रान्सफर्मरमा देखिने समस्याका कारण पटक पटक विद्युत् अवरुद्ध हुँदै आएको उनले बताए। केन्द्रले सो क्षेत्रलाई लक्षित गर्दै पर्साबाट राजमार्ग हुँदै सौराहाचोकको बाटो सोझै तार तानेर नयाँ फिडरमार्फत विद्युत् वितरण गर्न लागेको हो । पर्सा सबस्टेशनमा हाल चारवटा फिडर रहेका छन् ।

यसलाई बढाएर छ वटा पुर्याउने तयारी गरिएको छ । भरतपुरबाट गएको ३३ हजार केभिए विद्युत्ले नपुगेपछि ११ हजार केभिएको छुट्टै तारमार्फत सोही क्षेत्रमा विद्युत् पुर्याइएको छ ।

श्रीवास्तवले पुसभित्रमा सौराहामा विद्युत् अवरुद्ध नहुने गरी व्यवस्थापन गरिने बताए । क्षेत्रीय होटल सङ्घ सौराहाको टोलीले केही दिनअघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेट गरी भ्रमण वर्षमा विद्युत् अवरुद्ध नहुने व्यवस्था गरिदिन आग्रह गरेको थियो ।

देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहा चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार हो । सो क्षेत्रमा १२० होटल रहेका छन् । सोराहामा भ्रमण वर्षमा चार लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।