काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० भव्य रुपमा सफल हुने विश्वास दिलाएका छन् । सोहीअनुसार आफूहरुले तयारी गरेकोपनि उनले स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकारले भ्रमण वर्ष सफल बनाउनेगरि कार्यक्रम सञ्चालन गरिरहेको सुनाए । उनले विगतमा ५÷६ महिना मन्त्रालय राजनीतिक नेतृत्वविहीन भएकोले भ्रमण वर्षको तयारीमा केही ढिलाई भएपनि अहिले काम द्रुत गतिमा अघि बढिरहेको स्पष्ट पारे । उनले भने, ‘म आएपछि भ्रमण वर्ष सफल तुल्याउनको लगातार छलफल गरेको छु, यससँग सरोकारवालाहरुसँग पनि धेरै पटक छलफल तथा अन्तरक्रिया गरेको छु ।’


ADVERTISEMENT

# # #


भ्रमण वर्षको लागि आवश्यक बजेटको पनि प्रवन्ध गरिएको उल्लेख गर्दै उनले अघिल्लो आर्थिक वर्षमा भ्रमण वर्षको लागि दश करोड बजेटमात्रै छुट्याईएको यो वर्ष १५ करोड बजेट छुट्याईएको बताए । मन्त्री भट्टराईले भने, ‘भ्रमण वर्षको लागि २५ करोड बजेट भनेको न्यून हो, अहिले हामीले ६५ करोडको बजेट पास गरेका छौं ।’

उनले पर्यटन वर्षको प्रचारको लागि पनि सरकारले विशेष ध्यान दिएको सुनाए । पचासौँ हजार मान्छेको उपस्थितिमा सन् २०२० को जनवरी १ तारिखमा भ्रमण वर्षको भव्य शुभारम्भ हुने उनको भनाई छ । उनले भ्रमण वर्षलाई लक्षित गरेर आफूले ४० भन्दा बढि देशका पर्यटनमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिईसकेको जानकारी दिए । ‘नेपाल घुम्न आउने पर्यटकहरुको आधारमा मैले ४० देशका पर्यटकमन्त्रीहरुलाई निम्तो पठाएको छु’ उनले भने ।

भ्रमण वर्ष सफल तुल्याउनको लागि पर्यटन प्रर्वद्धन गर्ने विभिन्न अन्तर्राष्ट्रिय संघ, संस्था, विभिन्न चर्चित अन्तर्राष्ट्रिय व्यक्तित्वहरु (कलाकार, खेलाडी) लाई पनि नेपाल भ्रमणको लागि आमन्त्रण गरिएको उनले सुनाए । मन्त्री भट्टराईले विश्वका प्रमुख शहरहरुमा यतिवेला नेपाल भ्रमण वर्षको प्रचारप्रसार तिव्र भइरहेको जानकारी दिए । उनले भ्रमण वर्षलाई लक्षित गरेर केही नयाँ हिमालहरुलाई पनि आरोहणको लागि खुल्ला गर्न लागिएको बताए ।

यस्तै उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ९० प्रतिशत निर्माण काम सम्पन्न भइसकेको जानकारी दिए । यद्दपी उक्त विमानस्थलमा हवाई सेवा सञ्चालनको लागि (उडानयोग्य) बनाउनको लागि अध्यागमन, भन्सार, एयरलाईन्सका कार्यालय राख्ने, सुरक्षाको प्रवन्ध गर्नेलगायतका केही महत्वपूर्ण काम बाँकी रहेको उनको भनाई छ । उनले आगामी सन् २०२० को मार्चबाट सेवा सुरु गर्ने आफूहरुको लक्ष्य यथावत रहेको पनि स्पष्ट पारे ।

त्यस्तै, उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि ५० प्रतिशतभन्दा बढि सम्पन्न भैसकेको बताए । उनले भने, ‘यो आगामी सन् २०२१ को जुनमा सकिनुपर्छ । हाम्रो लक्ष्यअनुसार त यही हो, तर अहिले प्राप्त रिपोर्टअनुसार यो लक्ष्यभन्दा ६ महिनाअघि नै सम्पन्न हुनेछ ।’ उनले काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुदृढीकरण र विस्तारको काम पनि भैरहेको सुनाए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भार कम गर्नका लागि बाराको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्विकल्प रहेको उनको भनाई छ । निजगढ विमानस्थल बनाउनका लागि रुख काट्ने विषयलाई लिएर गलत प्रचार गरिएको उनले बताए । ‘हामी प्राकृतिक सम्पदालाई नियतवश क्षति पुगाउने पक्षमा छैनौं । तर, विकल्प दिएर हामी विकास गर्छौं ।’ उनले भने, ‘एउटा रुख काट्दा २५ वटा रोप्नुपर्छ । निजगढमा कति रुख काट्नुपर्ने हो भन्ने विषयमा हामी यही महिनाभित्र तथ्यांक दिन्छौं ।’

२५ लाख रुख काट्ने काम जिन्दगीमा कहिल्यैपनि नहुने उनले जिकिर गरे । उनले आगामी पाँच वर्षभित्र निजगढबाट अमेरिका जान सकिने ठोकुवा गरे । उनले भने, ‘द्रुत गतिमा काम हुन्छ । वर्षमा २० लाखमात्रै होईन, एक करोड पर्यटक आउने बनाउँछौं । गौतमबुद्ध, निजगढ विमानस्थल र नेपालका ५० भन्दा बढि आन्तरिक विमानस्थलहरु हुनेछन्, अब नेपालमा पर्यटनको विकास हुन्छ ।’

उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि सरकारले तत्काल चार किल्ला छुट्याउने काम गर्ने बताए । यस्तै मन्त्री भट्टराईले नेपाल वायु सेवा निगमको गौरवशाली ईतिहास रहेको उल्लेख गर्दै पछिल्लो समय निगम कमजोरी बन्दै गएको टिप्पणी गरे । उनले भने, ‘यो व्यवसाय गर्ने र नाफा कमाउने संस्था हो, यसलाई मागी खाने भाँडो बनाउनुहुँदैन् ।सधैं अनुदान दिएर चल्दैन् । आफैं नाफा कमाउनुपर्छ ।’ नेपाल वायु सेवा निगमलाई सार्वजनिक कम्पनीको रुपमा चलाउने तयारी भैरहेको पनि उनले सुनाए ।