काठमाडौं – नेपाल बिद्युत प्राधिकरणले समयमै काम गर्न नसकेको भनेर आरोप खेप्दै आएको माथिल्लो त्रिशूली थ्री ‘ए’ को सोमबार औपचारिक उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट स्वीच थिचि माथिल्लो त्रिशूली थ्री ‘ए’ को औपचारिक उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT


गत चैतदेखि परीक्षणका रुपमा नियमित विद्युत् उत्पादन शुरु गरेको सो आयोजनाको सोमबार औपचारिकरूपमा उद्घाटन भएको हो । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेमा उपस्थित भएर आयोजनाको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माथिल्लो त्रिशुली थ्री ए उद्घटान हुनु भनेको निक्कै खुसीको कुरा रहेको बताए ।


ADVERTISEMENT

# # #


उनले त्रिशुली थ्री ए राष्ट्रिय प्रशारण लाईनमा थपिएसँगै विद्युतको सेवा नेपाली नागरिकहरुले धेरै पाउने उल्लेख गरे। देशलाई चौतर्फी विकास गराउने कार्यमा आफूहरु कृयाशिल रहेको बताउँदै उनले अब २–३ बर्षमा नेपाल अति गरिब देशवाट माथि उठ्ने बताए । उनले अबको १०÷१२ बर्षमा जनताले पाउनु पर्ने अधिकार र सेवा दिएर मध्यम आय भएको देशको रुपमा विकास गर्न सकिने बताए।

प्रधानमन्त्री ओलीले गरिबी निवारण गर्ने रोजगारी बढाउने आयत प्रतिस्थापन गर्ने र निर्यात बढाउने काम गर्ने कार्यमा सरकार कृयाशिल रहेको बताए ।
उनले आत्मनिर्भर अर्थतन्त्र भएको देशको रुपमा विकास गराउने कार्यमा लागेको बताए ।

उनले जनताले समेत आफूले कर तिर्ने समयमा जग्गा जमिनको सकेसम्म कम कर तिर्ने र सरकारले मुआब्जाको धेरै देखाएर अवरोध गर्दा राष्ट्रिय आयोजनाहरुमा असर पारेको बताए । यो आयोजना समेत ९० मेगावाटको बन्ने अवस्थामा यस्तै कारणले ६० मेगावाट मात्रै बनेको भन्दै उनले नेपाल नेपालीले बनाउने उल्लेख गरे ।

आयोजना पूर्णरूपमा सञ्चालनमा आएपछि आयोजनाबाट मुलुकभित्र खपत हुने ऊर्जामा करिब आठ प्रतिशतको योगदान रहेको छ । लागत रु १२ अर्ब ६० करोड (१२ करोड ५८ लाख डलर) रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ आयात निर्यात बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।

इञ्जिनीयरिङ, खरिद र निर्माण (इपिसी) ढाँचामा विद्युतगृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्ने गरी चिनियाँ कम्पनी गेजुवासँग २०६७ साल जेठ १४ गते ठेक्का सम्झौता भएको थियो ।

आयोजनाबाट उत्पादित विद्युत् त्रिशूली काठमाडौँ २२० केभी क्षमताको प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।